जनकपुरधाम : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक भएसंगै मधेश प्रदेशमा मुख्यमन्त्री को भन्ने विषयमा चर्चा बनेको छ ।

प्रदेशसभाको प्रत्यक्ष ६४ सिट मध्ये १३ प्रत्यक्ष सिटमा र समानुपातिकमा सबैभन्दा बढी मत ल्याएको नेकपा एमाले भित्र मुख्यमन्त्री बन्नका लागि दौडधुप सुरु भएको छ ।

मुख्यमन्त्रीमा एमालेका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला ईन्चार्ज रामचन्द्र मण्डलको चर्चा पहिलो स्थानमा छ । १०७ सदस्यीय (६४ प्रत्यक्ष ४३ समानुपातिक) प्रदेशसभामा एमाले जसपा गठबन्धनले जनमत र स्वतन्त्रसंग मिलेर सरकार बनाउने कसरतमा जुटेको छ । एमाले एक्लै १४, काँग्रेस १३, जसपा ९, लोसपा ७, जनमत ६, माओवादी ४, एकिकृत समाजवादी ४ र स्वतन्त्र ६ सिट हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रबाट पार्टी विभाजन हुँदा सांसद पदको त्याग गरेर एमालेमै बसेको योगदान, व्यक्तित्व र समावेशीताका कारण पनि धनुषा १ ‘ख’ बाट निर्वाचित मण्डल निर्विकल्प मुख्यमन्त्रीको दाबेदार भएको एमालेले जनाएको छ । पार्टीले रामचन्द्र मण्डललाई मुख्यमन्त्रीको पहिलो प्राथमिकतामा राखेको एमाले श्रोतको भनाई छ ।

अब बन्ने सरकारको मुख्यमन्त्रीका लागि आफ्नो दाबी स्वाभाविक भएको मण्डलले बताएका छन् । यसअघि माओवादीमा रहदा संसदीय दलको नेता र एमालेमा रहदा पार्टीप्रतिको लगाव र मेहनतले स्थानीय निर्वाचनमा खेलेको भुमिका तथा प्रदेशसभा निर्वाचनमा एमाले जसपा गठबन्धनलाई विजयी गराएको नाताले पनि मुख्यमन्त्रीका लागि आफ्नो दाबी स्वभाविक रहेको मण्डलले बताए ।
‘मुख्यमन्त्री राजनीतिक सहमतिबाट टुंगिने विषय हो । मधेश प्रदेशका जनताले मलाई नै खोजिरहेको महसुस गरेको छु । एमालेको सबैभन्दा बढी हैसियत भएको र योग्यता, क्षमताको आधारमा पनि मलाई नै अघि बढाउन तयार हुनुहुन्छ । त्यसकारण अब बन्ने सरकारको मुख्यमन्त्री पदमा मेरो दाबी स्वाभाविक छ’, उनले भने ।

‘प्रदेशसभामा ठूलो दल एमालेको नेतृत्वमा सरकार बनाउने गरी राजनीतिक सहमति गर्छौं’, उनले भने । उनले आफ्नो नेतृत्वमा एमाले-जसपा, जनमत र स्वतन्त्र सहितको सरकार बन्ने र प्रदेशका जिल्लामा गरिब, निमुखा, घरबार विहिनलाई घर बनाई जनतालाई हस्तान्तरण गरिने बताए ।

मण्डलले जनताको आधारभुत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकास, ग्रामीण विद्युतीकरण, कृषि तथा पशुपालनलाई प्राथमिकता दिइने बताए । सबै जाति, भाषा, धर्म, सम्प्रदायको हितमा प्रदेश सरकारका गतिविधि अगाडि बढाइने उनको योजना छ । प्रदेशमा औद्योगिक क्षेत्रको विकास एवं विस्तार, साना तथा घरेलु उद्योगको प्रवद्र्धन, पर्यटकीय क्षेत्रमा टेवा पुग्ने गरी सरकारले काम गर्ने मण्डलले बताए । ‘दुःखलाई सुखमा बदल्न पहल गर्छौँ । गरिब, निमुखा, सेवामुखी, न्यायमुखी र आयमुखी नीति लिनेछौँ । व्यवस्था धेरै पटक बदलियौँ । अब जनताको अवस्था बदल्नेछौँ’, मण्डलले भने ।

धनुषा क्षेत्र नम्बर १ (ख) बाट दोश्रोपटक निर्वाचित भएका हुन् । उनले सत्तारुढ गठबन्धनका लोसपा उम्मेदवार संजय सिंह ३ हजार १ सय १७ मतान्तरले पराजित गरेका हुन् । मण्डललाई मुख्यमन्त्रीमा अघि सार्न धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) का लखनलाल दासले समर्थन गर्ने जनाएका छन् । अहिलेकै अस्थामा प्रदेशको सबैभन्दा ठुलो दलको हैसियतले मुख्यमन्त्रीको दाबी पेश गर्ने त्यसले बन्ने सरकारको विषय निर्धारण गर्नेछ ।

मण्डलले एमालेका हरिनारायण महतो, मो. समिर, लखन लालदास जस्ता साथीहरु आफ्नो पक्षमा रहेकोले मुख्यमन्त्रीमा स्वभाविक दाबी रहेको बताए । उनले भने, ‘केन्द्रिय हेडक्वाटर सम्म कुरा पुगीसकेको छ, वहाँहरु पनि सकारात्मक हुनुहुन्छ, त्यसैले मेरो अनुभव र संसदीय अभ्यासलाई अगाडी बढाउन मेरो आवश्यकता पर्छ ।’

२०७९ मंसिर १५, बिहीबार १९:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय