
जनकपुरधाम : धनुषामा सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
शनिबार बिहान करिव ५ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.१ ज. ८३९६ नम्बरको विङ्गरलाई विपरीत दिशाबाट जाँदै गरेको ज.१ त. १४९६ नम्बरको पिकअप भ्यानले धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित वीरेन्द्रबजारमा ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर-४ बस्ने २९ वर्षीया रूबी साह, धनौजी गाउँपालिका वडा नम्बर-४ बस्ने २५ वर्षीय विङ्गर चालक अब्दुल मंसुरी, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर-७ बस्ने १७ वर्षीया मंजुकुमारी साह र उनकी १३ वर्षीय बहिनी सृजना साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए । दुर्घटनामा परि मृत्यु भएकाहरूमध्ये एकजनाको सनाखत हुन बाँकी रहेको उनले बताए ।
तिव्र गतिमा रहेको पिकअपले विङ्गरलाई ठक्कर दिँदा अन्य ९ जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा मुखियापट्टी मुसहरनिया गाउँपालिकाका ४ जना, महोत्तरीको पिपरा गाउँपालिकाका ३ जना र लोहारपट्टी नगरपालिकाका २ जना रहेको डीएसपी रायले बताए । उनीहरूको अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
पिकअपका चालक रौतहटको चन्द्रपुर नगरपालिका-१ बस्ने १८ वर्षीय सबिन बिकलाई नियन्त्रणमा लिइ दुर्घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।