काठमाडौं : छायांकन सुरु नहुँदासम्म फिल्ममा अनुबन्धित कलाकार हेरफेर हुनु सामान्य भइसकेको छ । कति फिल्ममा त छायांकनकै क्रममा पनि कलाकार परिवर्तन हुन्छन् । यस्तैमा, राजिव गुरुङको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘ग्रहण’मा पनि कलाकार हेरफेर भएका छन् । अभिनता विनय श्रेष्ठले फिल्मबाट हात झिकेका छन् भने उनको ठाउँ अभिनेता दिव्यदेवले लिने भएका छन् ।

राजिवले मुख्य अभिनेताको रुपमा दिव्यदेवले काम गर्ने करिब सहमति भएको जानकारी दिए । तर, दुई पक्षबीच कागजी सम्झौता भने भइसकेको छैन । गत वर्ष प्रदर्शित फिल्म ‘चिसो एस्ट्रे’बाट सशक्त रुपमा उदाएका दिव्यदेवले नयाँ फिल्म ‘हिजो आजका कुरा’ बाट पनि अभिनयमा वाहवाही बटुलेका थिए । उनलाई यतिबेला अभिनेता सौगात मल्लको विकल्पको रुपमा लिन थालिएको छ ।

गत वर्ष भारतको सिक्किममा घोषणा भएको ‘ग्रहण’को सिक्किममा ५० प्रतिशत र नेपालमा ५० प्रतिशत छायांकन हुने बताइएको थियो । तर, अब फिल्मको कथामा पनि केही परिवर्तन गरी नेपालमै छायांकन गर्ने निर्देशक गुरुङको तयारी छ । फिल्मबाट विनय अलगिएका भए पनि अभिनेत्री नम्रता श्रेष्ठ यथावत् छिन् । फिल्ममा उनको भूमिका एरियल योगा इन्स्टक्टरको रहने बताइएको छ ।

हरी हुमागाईंको छायांकन र प्रविन श्रेष्ठको सम्पादन रहने ‘ग्रहण’को स्क्रिप्ट र स्क्रिनप्ले विशाल सापकोटाको हो । फिल्मको कथा निर्देशक गुरुङ स्वयम्को हो । फिल्ममा नम्रताका प्रेमी अभिनेता सारुक ताम्राकारको पनि अभिनय रहनेछ । नम्रता र सारुकले पहिलो पटक एकसाथ फिल्ममा काम गर्न लागेका हुन् । यो फिल्मको छायांकन पुष १५ पछि सुरु गर्ने तयारीमा निर्माण टिम छ ।


२०७९ मंसिर १९, सोमबार १७:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु