
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
‘मसँग शायद अब धेरै वर्ष समय छैन । तपाईँहरुको माया पाएँ र आशिर्वाद लाग्यो भने मलाई लाग्छ म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु,’ सम्बोधनका क्रममा प्रचण्डले भने।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको रुपमा आफ्नो पहिलो कार्यकाल विधि र प्रक्रिया बुझ्न नपाई बितेको बताए । उनले दोस्रो कार्यकालमा राष्ट्रको हितको सन्दर्भमा महत्वपूर्ण काम भएको दाबी गरे ।
‘मधेश पहाड हिमाल के होला भन्ने स्थिति भएको थियो त्यतिबेला । मधेश, पहाड र हिमाललाई एकतावद्ध गरेर सिंगो देशलाई लोकतान्त्रिक प्रक्रियामा प्रवेश गराउने भूमिका खेल्न पाएँ । विकासलाई गति दिने र कैयौं दशकदेखि पछि परेको आर्थिक विकासको ग्राफलाई बढाउने अवसर प्राप्त भयो,’ प्रचण्डले भने । उनले यस्ता कामहरु आफ्नो नेतृत्वमा सम्पन्न हुँदा गर्वको महशुस भएको उनले बताए।
प्रचण्डले अहिले देश फेरि अराजकतातिर जाने हो कि ? केही समस्या आउने हो कि ? भन्ने बेलामा देशको शासन व्यवस्था र संविधानलाई गति दिने काममा सफलता प्राप्त गरेको बताए।
उनले तेस्रोपटक देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘यदी देशको नेतृत्वको गर्ने अवसर हामीलाई प्राप्त भयो भने एउटा काम गम्भीर रुपले विचार गरिरहेको काम भ्रष्टाचार नियन्त्रण यो देशको निम्ति अनिवार्य सर्त छ । हामीले आफ्नो घोषणापत्रमा भनेका छौं ०४७ साल यताका राजनीतिक नेतृत्वमा रहेका विशिष्ट व्यक्तिहरु र सरकारमा रहेका विशिष्ट श्रेणीका व्यक्तिहरुको सम्पत्ती छानविन गरेर उनीहरुले भ्रष्टाचार गरेको देखिएमा कडा कारबाही गर्नेगरी अगाडि बढ्छौं,’ उनले भने ।