
काठमाडौं : फिफा विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । कतारको लुसेल मैदानमा नेपाली समय अनुसार आज राति पौने ९ बजे सुरु हुनेछ ।
अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेको हो । फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् ।
विश्वकपको इतिहासमा अर्जेन्टिना छैटौँपटक फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिना यसअघि १९३०, १९७८, १९८६, १९९० र २०१४ मा भएको विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । यसमध्ये अर्जेन्टिनाले १९७८ र १९८६ को संस्करणको उपाधि जितेको थियो ।
यता फ्रान्स भने चौथोपटक विश्वकपको फाइनलमा पुगेको हो । फ्रान्सले यसअघि १९९८, २००६ र २०१८ को विश्वकप फाइनल खेलेको थियो । यसमध्ये फ्रान्सले १९९८ र २०१८ संस्करणको उपाधि जितेको थियो ।
यसपालि जितेमा फ्रान्सले लगातार दोस्रो पटक जितेर उपाधि नै रक्षा गर्नेछ । साथै लगातार उपाधि जित्ने दोस्रो देश पनि बन्नेछ ।