काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिले वामपन्थी सरकारको सम्भावना नभएको बताएका छन्। पार्टीले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष नेपालले अहिले वामपन्थी सरकार बनाउने कुरा अलमल्याउने खेल मात्र भएको बताएका छन्।

‘अहिले कसैले वामपन्थीको सरकार बनाउने कुरा सोचिरहेको छ, त्यो पनि जनतालाई अलमल्याउने कुरा मात्र हो। त्यस्तो कुरा सजिलै पत्याउन सकिँदैन। भएकाको विश्वास गुमाउने अनि हुदै नभएकाको विश्वास गरेर घर न घाटको हुने, त्यस्तो गल्ती हामी गर्न सक्दैनौं,’ अध्यक्ष नेपालले भने।

उनले अहिलेको अवस्थामा गैरवापन्थीको सरकार पनि बन्न नसक्ने बताए । यदि कसैले त्यस्तो सोच्छ भने त्यो पुवाउ मात्र भएको नेपालको भनाई थियो।

अध्यक्ष नेपालले अहिलेकै गठबन्धन कायम हुने र गठबन्धनकै सरकार बन्ने बताए । उनले भने, ‘गठबन्धन कायम राख्नेछौं, गठबन्धन दलका नेताले सँगसँगै जाने संयुक्त वक्तव्य जारी गरिसकेका छौं । गठबन्धनकै सरकार बन्ने आशा गरेका छौं ।’

अध्यक्ष नेपालले एमालेसँग तत्काल मिल्न सम्भावना नभएको पनि संकेत गरे । ०७४ को चुनावमा आएको जनादेशबाट राम्रो शिक्षा लिएर अगाडि बढेको भए अहिले बेग्लै नतिजा आउने उनले बताए।

‘वास्तवमा २०७४ सालको जनादेशबाट शिक्षा लिएर राम्रो ढंगले अगाडि बढेको भए बेग्लै परिणाम आउँथ्यो’ उनले भने, ‘हामीले चाहेर मात्र घटनाक्रम अगाडि बढ्दैन, विभिन्न पात्रको भूमिकाले ठूलो प्रभाव पार्छ।’

नेता नेपालले बजारमा चलेका हल्लाको पछाडि नलाग्न पनि सांसद र पार्टीका नेताहरुलाई आग्रह गरे। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आफ्नो कुराकानी भएको र दुबै नेता गठबन्धन कायम राख्न तयार रहेको बताए।

२०७९ पुष ४, सोमबार १९:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय