
बर्दिबास : महोत्तरीको बर्दिबास-१४ मा स्थापित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को शाखाले यस वर्षदेखि पठनपाठन र अभ्यास सुरु गराएको छ । शाखा स्थापनाको एक वर्षपछि प्रतिष्ठानले ‘व्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट’ विषयको पठनपाठन र अभ्यास यस वर्षदेखि थालेको हो । अन्तराष्ट्रिय पाठ्यक्रम पात्रो (तालिका)अनुसार गत अक्टुबरदेखि सुरु भएको कक्षामा पहिलो सत्रमा १७ जना प्रशिक्षार्थी छन् ।
पठनपाठन र अभ्यास गराउन थालिएको तीन महिनाभित्रै प्रशिक्षार्थी खाद्य परिकार बनाउन / पकाउन पोख्त हुँदै गएका छन् । बर्दिबास-१ की आस्था भट्टराईले केही महिनामै बिभिन्न खाद्य परिकार बनाउन/पकाउन निपुणता हासिल गर्नुभएको छ । “अब म मासुको कवाफसहितका बिभिन्न परिकार बनाउन सिपालु भइसकेकी छु” अभ्यास कक्षामा भेटिनु भएकी भट्टराईले भन्नुभयो । भट्टराईजस्तै बर्दिबास-३ की सदीक्षा घिमिरे, बर्दिबास-२ की आरती भुजेल, बर्दिबास-१३ की दिव्यानी जोशी र सर्लाहीको बागमती-३ का सागर फुँयालसहित १७ जना प्रशिक्षार्थी अहिले होटल म्यानेजमेन्ट (व्यवस्थापन) विषयमा आफ्नो सीप तिखार्दैछन् ।
“म प्रतिष्ठानमा भर्ना लिएर अध्ययन र अभ्यास थालेको तीन महिना पुग्दैछ, नेपाली र अन्य बिभिन्न राष्ट्रमा प्रचलनका रहेका खाद्य परिकार बनाउन/पकाउन जान्ने भइसकेकी छु” आरती भुजेल भन्नुहुन्छ । प्रथम सिमेष्टरमै नेपाली प्रचलनका थकाली, नेवारी र परम्परागत अन्य भान्साका परिकारसहित बिभिन्न मुलुकका कहलिएका परिकार बनाउने/पकाउने सीप बढ्दै गएको प्रशिक्षार्थी बताउँछन् ।
प्रशिक्षार्थीलाई काठमाण्डौ विश्वविद्यालयको पाठ्यक्रम र अभ्यास तालिकामा सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइने प्रतिष्ठान बर्दिबास शाखाका प्रमुख शिवेन्द्र मल्लिक बताउनुहुन्छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रवि भवन कलङ्की काठमाण्डौको शाखाका रुपमा सञ्चालित बर्दिबासस्थित प्रतिष्ठानमा ४० जनाका लागि भर्ना आह्वान गरिएपनि यसपालि पहिलो वर्ष १७ जनामात्र प्रशिक्षार्थी भएका मल्लिकले जानकारी दिनुभयो ।
अन्तराष्ट्रिय क्यालेण्डर (तालिका , पात्रो) अनुसार अङ्ग्रेजी महिनाको अक्टुवरदेखि नयाँ कक्षा सुरु गरिने यो विषय चार वर्षभित्रका आठ सिमेष्टरमा पुरा हुन्छ । आठ सिमेष्टरमध्ये छ वटा प्रतिष्ठानकै सैद्धान्तिक र अभ्यासबाट र पछिल्ला दुई सिमेष्टर बिभिन्न मुलुकका प्रसिद्ध होटलमा अभ्यास गराएर कोर्स पुरा गराइने प्रतिष्ठानले जनाएको छ ।
होटल व्यवस्थापनको विषयका दक्ष जनशक्ति अहिले अन्तराष्ट्रिय क्षेत्रमा निकै माग हुने गरेको हुँदा यो कोर्स पुरा गर्ने संसारका कुनै पनि मुलुकमा काम गर्नसक्ने र आकर्षक पारिश्रमिक पाउनसक्ने जनशक्ति बन्ने प्रतिष्ठान शाखाका ‘व्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट’ (बिएचएम) विभागका संयोजक विनोद अर्याल बताउनुहुन्छ ।
“हामी अन्तराष्ट्रिय क्षेत्रमा यस विषयका लागि पोख्त हुने दक्ष जनशक्ति तयार गर्दैछौं”अर्याल भन्नुहुन्छ, “बर्दिबास शाखाका पहिलो व्याच (समूह) का सबैजसो प्रशिक्षार्थी मेहनती र जिज्ञासु छन् , यिनले ठिक समयमा कोर्स पुरा गर्ने विश्वास जागेको छ ।” अहिलेको समूहले कोर्स पुरा गरेर यो जनशक्ति अन्तराष्ट्रिय बजारमा जमेपछि यस भेगमा होटल म्यानेजमेन्ट विषयप्रति थप आकर्षण बढ्ने अर्यालको विश्वास छ ।
मधेश प्रदेशको करिब मध्यभेगमा अवस्थित बर्दिबासमा प्रतिष्ठानको शाखा सञ्चालनमा आउनुले यस भेगका वैदेशिक रोजगारीमा जान इच्छुक शिक्षित युवाका लागि महत्वपूणर् अवसर बनेको यहाँका शिक्षाविद्हरुको टिप्पणी छ । संसारका सबैजसो मुलुकमा तत्काल बिक्ने यो सीप र दक्षताबारे पछिल्लो पुस्तामा चासो बढेको बर्दिबास जनता बहुमुखि क्याम्पसका प्रमुख तोपबहादुर ठकुरी बताउनुहुन्छ । सीपमूलक व्यावसायिक शिक्षाको प्रबद्र्धन र खासमा बर्दिबास नगरलाई शैक्षिक केन्द्र बनाउन पनि यो शाखाले योगदान दिएको ठकुरीको भनाइ छ ।
मधेशमा वैदेशिक रोगारीमा जाने ठूलो सङ्ख्या भएपनि काममा दक्षता नहुँदा थोरै पारिश्रमिकमा कठोर मेहनत गर्नु पर्ने वर्तमान अवस्था अन्त्य गर्न प्रतिष्ठान बर्दिबास शाखाले सहयोग पुर्याउने अहिले यस भेगमा अपेक्षा गरिदैछ ।