नेपालवाणी / जनकपुरधाम ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धानुक दासको हत्यामा उनकै छोरा र ज्वाईको संलग्नता रहेको पाइएको छ । ४० वर्षीय मोटर मिस्त्री दासको गत पुस ९ गते शनिबार साँझ आफ्नै ग्यारेजमा गोली प्रहार गरी हत्या गरिएको थियो ।

दासको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले उनका छोरा र ज्वाईँ सहित ३ जनालाई पक्राउ गरेको छ भने एकजना अझै फरार रहेका छन् । दासको हत्यामा संलग्न रहेको आरोपमा दासका छोरा प्रदीप दास, ज्वाई उदय दास र नगराईन नगरपालिका स्थित जटहीका सुटर रञ्जित यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

मृतक धानुक दासका ज्वाई उदय दास मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका चालक हुन् । तीनै जनालाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले पक्राउ गरेको हो । घटनामा संलग्न भारत बिहारको खजुली बस्ने आकाश भनिने सोनु मिश्रा फरार रहेको प्रहरीले जनाएको छ ।

घरमा सम्पत्तिको विवादमा कुरा नमिल्दा छोरा र ज्वाई मिलेर उनको हत्याको योजना बुनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । छोरा प्रदीपले नै ५ लाख रुपैयाँमा सुटरसंग डिल गरेर हत्या गराउन लगाएको प्रहरी स्रोतको दावी छ ।

प्रहरी स्रोतका अनुसार सुटरहरुलाई दुई पटकमा गरी ३ लाख रुपैयाँ दिइसकिएको र २ लाख रुपैयाँ दिन बाँकी रहेको जनाईएको छ ।

२०७९ पुष २०, बुधबार १४:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय