
गोविन्द महतो / जनकपुरधाम
जनकपुरका दुई युवकको भारतको विहारमा हत्या भएको छ । जनकपुरधामबाट आफन्तको घर जान्छु भनेर हिडेका युवकहरुलाई भारतको विहार राज्यको परिहार थाना अन्तर्गत गाडिएको अवस्थामा शल भेटिएको हो । जनकपुरधाम उप–महानगरपालिका ८ बस्ने जगदिश साहका २२ वर्षीय छोरा रोहित र जनकपुर १३ बस्ने रामबाबु साहका २० वर्षीय छोरा विष्णुको हत्या प्रहरीले पुष्टि गरेको छ ।
आइतबार बिहान भारत बिहार राज्यको परिहार थाना स्थित पर्सा गाउँको खेल मैदानमा दुवै युवकको शव फेला परेपछि अपहरणको घटना हत्यामा परिणत भएको । गत पुस २७ गते साँझ ४ बजे जनकपुरबाट पल्सर मोटरसाईकलमा दुवै जना भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घर निस्किएका थिए ।
घरबाट निस्किएका उनीहरुको साँझ देखि नै मोबाईल स्विच आँफ आईरहेको थियो । एकाएक बेपत्ता भएका दुवै जनाको परिवारलाई २९ गते शुक्रवार विष्णुको मोबाईलबाट अपहरणकारीले सोमबार सम्म ५० लाख रुपैयाँ फिरौती माग गरेका थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘विष्णुको बुवा रामबाबु साहको मोबाईलमा फोन गरी तपाईको छोरा हाम्रो कब्जामा छ । पैसा लिएर आउनुस् । आफ्नो छोरा लिएर जानुस् । भनी फोन पटक–पटक फोन आएको र ५० लाखको डिल १० लाखमा फाईनल भएको अनुसन्धानमा देखिएको छ ।’
अपहरणकारीले विष्णुको आवाज रेकर्ड गरेर पटक–पटक फोन गर्ने र फोनबाट सुनाउने र फिरौती माग्ने गरेका थिए । यो सूचना प्रहरीमा परिवारले मौखिक जानकारी पश्चात अपहरणकारीलाई २० लाख दिन राजी भए । अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा सिमावर्ती नाकामा बोलाएपछि परिवारजनले प्रहरीकै अनुसार हिडिहेको थियो ।
भारतीय प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा युवकहरुलाई अपहरण मुक्त गराउन लागिपरेको बेलामा मंगलबारबाट अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । तर आइतबार बिहान दुई शव गाडेको अवस्थामा फेला पारेपछि बिहान मृतक युवकहरुको आफन्तहरुलाई भारतीय प्रहरीले बोलाएको थियो । उनीहरुको शव भारतको बेला परिहार स्थित प्रहरी कार्यालयमा राखिएर पोष्टमा मार्टमाका लागि सितामढी जिल्ला अस्पतालमा लगिएको भारतीय प्रहरीलाई उद्दृत गर्दै धनुषा प्रहरीले जनाएको छ ।
‘अपहरणको जानकारी पश्चात् भारतीय प्रहरीसँग समन्वय गरेर खोजतलासमा सक्रियपूर्वक लागेका थियौं । अपहरणकारीले पठाएको रेकर्ड परिवारजनले हामीलाई समयमा उपलब्ध गराएनन् । हाम्रो अनुसन्धान चल्दै गर्दा अशुभ समाचार सुन्नु प¥यो । दुर्भाग्यवश हामीले बचाउन सकेनौं ।’ घटना पछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले २ जना र भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको धनुषाका एसपी खड्काले जानकारी दिए । उनीहरुको नाम अहिले गोप्य राखिएको छ । चारजना फरार रहेकाले खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।
‘शव कानुनी प्रक्रिया पुर्याएर ल्याउन यहाँबाट प्रहरीटोली उता पुगेको छ । को को घटनामा संलग्न छन् भन्ने डिटेल खुलिसकेको छ । प्रहरी उपरिक्षक खडकाले भने, ‘पाँचजना पक्राउ परिसकेका छ । अन्य चारजना फरार छन् । उनीहरुको खोजीकार्य जारी छ ।’ मृतक रोहित र विष्णु दुवै दाजुभाई हुन् ।
अपराध बढ्यो
भारतीय खुल्ला सिमासंग जोडिएको मधेशमा प्रदेशमा अपराध बढेको छ । प्रदेशमा ४.४७ प्रतिशतले अपराध बढेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्याङकमा १०७७÷०७८ मा ७ हजार २ सय १ वटा आपराधिक घटना भएको हो । जुन ०७६÷७७ मा ६ हजार ८ सय ९३ थियो । गत वर्ष सबैभन्दा बढी सामाजिक अपराध भएको हो । गत वर्ष १ हजार ८ सय ३२ वटा सामाजिक अपराधको घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
२०७६÷०७७ मा सामाजिक अपराधको २ हजार १ सय ६० वटा घटना दर्ता भएकोमा संगठित तथा आर्थिक अपराधको १ हजार ५ सय ४३ वटा घटना दर्ता भएको थियो । गत वर्ष कर्तव्य ज्यानको ९३, खुन डाँकाको २, ज्यान मार्ने उद्योगको ३ सय १०, गर्भपतनको ९ वटा घटना भएको हो ।
भवितव्य ज्यानको ४ सय ६७ वटा मुद्दा दर्ता भएको छ भने ज्यान सम्बन्धी कसुरमा १ सय २८, फुटकर ज्यान ९०, महिला तथा बालबालिका सम्बन्धी अपराधको ६ सय १७ वटा मुद्दा दर्ता भएको छ । यसैगरी यो वर्षमा केही महिना अघिसम्म प्रदेशको पूर्व सप्तरी देखि पर्सा सम्म ४७ अपराधिक गतिविधिको घटना भएको तथ्याङ्क छ ।