गोविन्द महतो / जनकपुरधाम

साथीको योजनामा जनकपुरका दुई युवकको भारत विहार स्थिति सितामढीको पर्सामा हत्या भएको खुलेको छ । जनकपुरधामबाट आफन्तको घर जान्छु भनेर निस्किएका युवकहरुलाई भारतको विहार राज्यको परिहार थाना अन्तर्गत पर्सा गाउँको खेलमैदानमा शव भेटिएको हो ।

जनकपुरधाम उप–महानगरपालिका ८ बस्ने जगदिश साहका २२ वर्षीय छोरा रोहित र जनकपुर १३ बस्ने रामबाबु साहका २० वर्षीय छोरा विष्णुको हत्या प्रहरीले पुष्टि गरेको छ । गत पुस २७ गते साँझ ४ बजे जनकपुरबाट मोटरसाईकलमा दुवै जना भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घर निस्किए । घरबाट निस्किएका उनीहरु त्यही साँझबाट मोबाईल स्विच आँफ आईरहयो । एकाएक बेपत्ता भएका दुवै जनाको परिवारलाई २९ गते शुक्रवार विष्णुको मोबाईलबाट अपहरणकारीले सोमबार सम्म ५० लाख रुपैयाँ फिरौती माग गरे ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘अपहरणकारीले विष्णु र रोहितलाई अपरहण गरेर रातभरी राखेपनि चिन्ने डर र भाग्ने सक्ने अवस्थालाई मध्यनजर गरेर अपहरणको भोली पल्टै बरदात गरेको देखिन्छ । तर पैसा असुली गर्नको लागि हत्या भन्दा पहिले पटक–पटक फरक प्रकृतिका भ्वाईस रेकर्ड गरेर फिरौती माग गरेको देखिन्छ ।’

‘हत्या गर्नुभन्दा पहिले दुवैजना सकुशल रहेको र पैसा पठाईदिने जस्ता भ्वाईस रेकर्ड गरेर राखेको र सोही भ्वाईस रेकर्ड सुनाएर जनकपुरमा रहेका विष्णुका बुवा रामबाबु साहको मोबाईलमा फोन गरी तपाईको छोरा हाम्रो कब्जामा छ । पैसा लिएर आउनुस् र आफ्नो छोरा लिएर जानुस् ।’ भनेर पटक–पटक फोन आएको र ५० लाखको डिल १० लाखमा फाईनल भएको अनुसन्धानमा देखिएको छ । अनुसन्धान अधिकृत भने, ‘अपहरणकारीले विष्णुको आवाज रेकर्ड गरेर पटक–पटक फोन गर्ने र फोनबाट भ्वाईस रेकड सुनाएर दुवै जना शकुशल रहेको विश्वास दिलाएर फिरौती माग्ने गरेको थियो ।’

सूचना प्रहरीमा परिवारले मौखिक जानकारी पश्चात अपहरणकारीलाई २० लाख दिन राजी भए । अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा सिमावर्ती नाकामा बोलाएपछि परिवारजन माग भएबमोजिमको रकम लिएर गएको पनि थियो । भारतीय प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा युवकहरुलाई अपहरण मुक्त गराउन लागिपरेको बेलामा मंगलबारबाट अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।

यता आइतबार बिहान दुई शव गाडेको अवस्थामा फेला परेपछि बिहान मृतक युवकहरुको आफन्तहरुलाई भारतीय प्रहरीले बोलाएको थियो । उनीहरुको शव भारतको बेला परिहार स्थित प्रहरी कार्यालयमा राखिएर पोष्टमा मार्टमाका लागि सितामढी जिल्ला अस्पतालमा लगिएको भारतीय प्रहरीलाई उद्दृत गर्दै धनुषा प्रहरीले जनाएको छ ।
‘अपहरणको जानकारी पश्चात् भारतीय प्रहरीसँग समन्वय गरेर खोजतलासमा सक्रियपूर्वक लागेका थियौं । अपहरणकारीले पठाएको रेकर्ड परिवारजनले हामीलाई समयमा उपलब्ध गराएनन् । हाम्रो अनुसन्धान चल्दै गर्दा अशुभ समाचार सुन्नु प¥यो । दुर्भाग्यवश हामीले बचाउन सकेनौं ।’

घटना पछि भारतीय प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरी समेत विष्णुका साथी महोत्तरी घर भई मनराशिस्वा नगरपालिका २ ईटहर्वा बस्ने २ बस्ने किसन कुमार पण्डित र सोही स्थान बस्ने २४ वर्षिय मुकेश पासमानलाई धनुषा प्रहरीले अनुसन्धानको क्रममा पक्राउ गरेको जनाएको छ ।

२०७९ माघ ९, सोमबार १८:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय