
काठमाडौं : सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेको छ।
नागरिकतासम्बन्धी विवादको मुद्दाबारे शुक्रबार सर्वोच्च अदालतले रवि लामिछाने नेपाली नागरिक नभएको ठहर गर्दै उनको सांसद पद रद्द हुने फैसला सुनाएको हो ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले रवि लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पुरानै नागरिकता पेस गरेको ठहर गर्दै उनको सांसद र उपप्रधानमन्त्री तथा गृहमन्त्री पद खारेज गर्ने फैसला गरेको हो ।संवैधानिक इजलासले चितवन–२ मा उपनिर्वाचन गर्न पनि आदेश दिएको छ ।
रविमाथि अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता नत्यागेको र अमेरिकी नागरिता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरी दल दर्ता तथा प्रतिनिधि सभाको उम्मेदवार बनेको भन्दै अधिवक्ता रविराज बसौला, युवराज पौडेल लगायतले उनीविरुद्ध रिट दायर गरेका थिए ।