
गोविन्द महतो / जनकपुरधाम
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन २०७९ गर्ने भएको छ । चन्द्रनगर गाउँपालिकाले ऐतिहासिक तथा पर्यटनीय नाढीमन ताल परिसरमा बालिका सम्मेलन २०७९ हुने भएको हो ।
नाढीमन ताललाई प्रदेश र देशव्यापी रुपमा चिनाउने तथा बालविवाह अन्त्यका लागि गाउँपालिकामा सन् २०३० सम्ममा बाल विवाहको अन्त्य विषय केन्द्रित राष्ट्रिय स्तरको बालिका सम्मेलन २०७९ आयोजना हुन लागेको हो ।
२०७९ फाल्गुन २० गते शनिबार आयोजना हुने बालिका सम्मलन चन्द्रनगर गाउँपालिकाको पहल र आयोजनामा संचालित हुने अध्यक्ष राजकुमार महतोले जानकारी दिए । अन्नपूर्णसंग कुरा गर्दै महतोले भने, ‘यस राष्ट्रिय स्तरको बालिका सम्मेलनमा सहभागी हुन र सहकार्य गर्न इच्छुक संस्था र व्यक्तिलाई गाउँपालिकामा सम्पर्क गर्नु हुन सादर आग्रह गर्दछौ ।’
सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्दै नेपालको बालिकालाई सक्षम बनाउने उदेश्यमा योगदान गर्न बालिका सम्मेलन २०७९ आयोजना गर्न लागेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए ।
उनले भने, ‘देशभरिका बालिका बोलाउन लागेका हौं । देशभरका बालिका बोलाऔं, अभियानमा अन्य संघ संस्थासंग समेत सहकार्यको पहल भईरहेको छ ।’
उनका अनुसार बालिका सम्मेलन २०७९ मा पालिका, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको बहुक्षेत्रीय सरोकारवालाहरुको सहभागिता र चार वटै तहका बाल विवाह, दाइजो र शिक्षा सम्बन्धी सवालहरु केन्द्रित प्राविधिक संवाद सञ्चालन हुनेछ ।