काठमाडौं : नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ।

लिग टूको अन्तिम खेलमा युएईलाई डिएल (डकवर्थ लुइस) मेथड मा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।

आजको खेलमा कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेथडका आधारमा नेपाल ९ रनले विजयी घोषणा भएको हो ।

नेपालका लागि कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुल्सन झाले अर्धशतक बनाए। ओपनर कुशल भुर्तेलले ३५ बलमा तीन चौका र चार छक्काको मद्दतबाट ५० रन बनाए । नेपालका लागि भीम सार्कीले सर्वाधिक रन बनाए । उनले ७६ बलमा ९ चौका प्रहार गर्दै ६७ रन बनाए ।

त्यस्तै आरिफ शेखले ५२ रन बनाए । उनले ६२ बलमा २ चौका प्रहार गरे । गुल्सन झाले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५० रन पूरा गरे ।कप्तान रोहित पौडेलले १६ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले अविजित १० रन बनाए ।

युएईका लागि जुनेद सिद्धिकीले सर्वाधिक तीन विकेट लिए भने आयान अफ्जल खान र जहुर खानले क्रमशः दुई र एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको युएईले ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३१० रन बनाएको थियो । युएईलाई फराकिलो स्कोरमा पुर्याउन आसिफ खानले कीर्तिमानी शतक बनाए । खानले ४१ बलमा ११ छक्का ४ चौकाको विस्फोटक ब्याटिङ गर्दै १०१ रन बनाए।

खेलमा कप्तान मोहम्मद वसिमले ६३ रन बनाए । ४९ बल खेलेका वसिमले ६ छक्का र २ चौका प्रहार गरे । त्यस्तै भृत्तीय अरविन्दले १३८ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ९४ रन बनाए । त्यस्तै रोहन मुस्तफाले २० रन बनाउँदा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिए । त्यस्तै ललित नारायण राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले एकएक विकेट लिए ।

यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिँदै जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ ।

२०७९ चैत्र २, बिहीबार १८:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय