
काठमाडौं, चैत १३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुन जस्तो भएको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री किराँतीले यस्तो बताउनुभएको हो ।
मन्त्री किरातीले सांसद हुँदा मन्त्री बनेपछि ठूलाठूला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान गरेपनि मन्त्री बनेपछि झनै कामको चाप बढी हुने अनुभव गरिरहेको जानकारी दिनुभयो । उहाँले मन्त्री बनिसकेपछि आफू सिधा उठाएर हिँड्ने सोहश्राद्धको बाहुन जस्तो भएको बताउनुभयो । मन्त्री किरातीले मानिसको प्राचीन विधा गीत सङ्गीत रहेको बताउनुभयो ।
‘‘म यो देशमा १० वर्ष सांसद भएर बिताइसकेको छु । मलाई लाग्थ्यो सांसद हुँदाखेरि म धेरै सानो सानो काममा हिँड्थेँ । यतिसम्मकी मान्छेहरूको बसको टिकटमा समस्या समेत पुग्थेँ, अनि लाग्थ्यो मन्त्री भएँ भने फुर्सद हुन्छ होला । ठूलोठूलो काम गर्नुपर्छ, ठूलो काम थोरै हुन्छ, अलि फुर्सद हुन्छ होला जस्तो लाग्थ्यो । तर म मन्त्री भएको ६५ दिन हाराहारी हुँदैछ ।,’’ मन्त्री किरातीले भन्नुभयो, ‘‘लाग्छ म त सोह्रश्राद्धको बाहुन जस्तो भएँ । हतार हतार सिधा उठाएर हिँडिहाल्नुपर्ने । त्यसको निम्ति म क्षमाप्रार्थी छु । अन्तिमसम्म कार्यक्रममा बस्न सकिनँ । मानिसको प्राचीन विधा गीत, सङ्गीत हो । प्रेमगीत त आमाबाट सिर्जित भयो ।’’
मन्त्री किरातीले राजनीतिज्ञ र क्रान्तिकारीहरू अरूको तुलनामा झनै बढी प्रेमिल हुने बताउनुभयो । उहाँले प्रेम गर्न नजान्नेले देश चलाउन पनि नजान्ने बताउनु भयो ।
‘‘राजनीतिज्ञ र क्रान्तिकारीहरू झनै धेरै प्रेमी हुन्छ । जसले प्रेम गर्न जान्दैन, त्यसले त देश पनि चलाउन जान्दैन । तर गीत जस्तो जीवन हुँदैन । जीवन र गीतको व्यवहारिक तालमेल धेरै टाढा छ ।’’ उहाँले भन्नुभयो ।