काठमाडौं : रुसको एक अदालतले मङ्गलबार एलेक्सी मोस्कालेभ नाम गरेका व्यक्तिलाई दुई वर्षको जेल सजाय सुनाएको छ । उनको एउटै अपराध थियो कि गत वर्ष मोस्कालेभकी छोरीले आफ्नो विद्यालयमा युद्धको विरुद्धमा चित्र बनाएकी थिइन्।

रुसी प्रहरीले एलेक्सी मोस्कालेभलाई घरमै नजरबन्दमा राखेको थियो । तर, रोयटर्सको रिपोर्टका अनुसार अहिले प्रहरीलाई उनको ठेगानाबारे केही थाहा छैन । मोस्कालेभ सजायबाट बच्न भागेको विश्वास गरिन्छ।

यसअघि प्रहरीले उनीबाट ३२ हजार रुबल (रुसी मुद्रा) जरिवाना समेत असुलेको थियो । उनलाई छोरीको राम्रोसँग पालनपोषण नगरेको भनियो । अनुसन्धान एजेन्सीले युक्रेन युद्धमा उनको टिप्पणीलाई बलात्कारको अपराधसँग तुलना गरेको छ।

गत वर्ष युद्ध सुरु भएको दुई महिनापछि अप्रिलमा एलेक्सीको छोरीको विद्यालयमा रुसको युद्धलाई समर्थन गर्ने चित्र बनाउन भनियो। यसमा एलेक्सीकी छोरी माशाले एक चित्र बनाइन् जुन युद्धको विरुद्ध थियो।

माशाले चित्रमा बच्चा र तिनकी आमालाई देखाइन् । त्यसमा लेखिएको थियो– युद्ध हुनुहुँदैन । युक्रेनको समर्थनमा नारा पनि लेखिएको थियो । एक दिन पछि, माशाका शिक्षकहरूले एलेक्सीलाई स्कूलमा बोलाए। बाबु छोरी दुवैलाई कारमा राखेर सोधपुछका लागि लगिएको थियो ।

पुटिनले रूसमा युद्धको आलोचना रोक्न धेरै किसिमका प्रतिबन्धहरू लगाएका छन्। एलेक्सी पनि यसको सिकार भए । स्थानीय प्रहरीले उनलाई पक्राउ गरी छोरी माशालाई हेरचाह केन्द्रमा पठाएको छ ।

एलेक्सीले रुसको मानव अधिकार समूहलाई भने कि डिसेम्बर ३० मा पाँच पुलिस कार र एक दमकल उनको घर बाहिर उनलाई पक्राउ गर्न आए। उनी बिना वारेन्ट उनीहरूलाई घरमा पस्न दिन चाहँदैनथे। तर उनीहरुको दबाबमा उनले ढोका खोले । त्यसपछि प्रहरी र रुसको संघीय सुरक्षा सेवा अर्थात एफएसबीले उनको घरको खानतलासी लिन थाले ।

एलेक्सीले आरोप लगाए कि उनीहरूले आफ्नो सबै बचत, मोबाइल फोन, ल्यापटप र उनकी छोरी माशाले बनाएको पेन्टिङ समेत खोसे। अल जजीराका अनुसार रसियाले एलेक्सीको आरोपमा कुनै प्रतिक्रिया दिएको छैन।

एलेक्सीले आफूलाई सुरक्षा अधिकारीहरूले कोठामा कैद गरेको बताएका छन् । उनलाई भित्तामा टाउको ठोकेर यातना दिइएको थियो । यससँगै उनलाई रुसको राष्ट्रिय गान ठूलो स्वरमा सुनाइयो । जुन असह्य थियो ।

एलेक्सीको ट्रायल केही दिनमा सुरु हुने अपेक्षा गरिएको छ। अहिले उनलाई घरमै नजरबन्द गरिएको छ । एलेक्सीलाई उनको वकिल र अनुसन्धान एजेन्सी बाहेक कसैले सम्पर्क गर्न सक्दैन। माशालाई अहिले आश्रयमा राखिएको छ।

एलेक्सीका वकिल बिलेन्कोले माशालाई घर फर्काउन सक्दो प्रयास गरिरहेको बताए । बाबु जेलमा परेमा उनी बालगृहमा बस्नुपर्नेछ । यस्तो अवस्थामा कम्तीमा तीन वर्षको सजाय हुनेछ। राजनीतिक मुद्दा भएकाले एलेक्सीको सजाय पनि बढ्न सक्छ ।

२०७९ चैत्र २२, बुधबार १३:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय