
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले देश सरकारबिहीन भएको टिप्पणी गरेका छन् ।
राजनीतिक अस्थिरता, आथिर्क संकट र सञ्चारको दायित्व विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बुधवार महासचिव चन्दले यस्तो टिप्पणी गरेका हुन् ।
उनले मंसिरमा भएको चुनावदेखि आजसम्म पनि सरकारले पूर्णता नपाउनु भनेको सरकार नहुनु सरह रहेको जिकिर गरे । प्रधानमन्त्रीले नै १६ वटासम्म मन्त्रालय हेर्ने स्थिति आउनु लज्जाको विषय भएको महासचिव चन्दले बताए ।
उनले अहिले पनि सरकारको आयु तोकेरै भन्ने गरिएको भन्दै नयाँ नेताहरु नयाँ दौरा सुरवाल सिलाउन लागेको बताए ।
चन्दले अहिलेको परिवेशले नेपालमा राजनीतिक अस्थिरता अझै बढेर जानेकुरा चित्रित गरेको बताए । उनले देशमा गणतन्त्र आएको १५ वर्ष झगडामा बिताएर अहिले जनता र अन्य कारण देखाएर पन्छिन नमिल्ने बताए ।
महासचिव चन्दले देशमा संकट विद्यमान रहेकाले के हुन्छ भनिहाल्ने अवस्था नरहेको बताए । उनले नेपालमा राजतन्त्र हुँदा समेत आर्थिक मन्दीको अहिलेको अवस्था भोग्नु नपरेको बताए।
उनले नेपालको उत्पादनले तीन महिना पनि नधान्ने स्थिति रहेको भन्दै उत्पादनमा जोड नदिनेहबाट राज्य सञ्चालन हुनै नसक्ने बताएका छन्।