बर्दिबास : नेकपा (एमाले) को बर्दिबास (महोत्तरी) को दोस्रो नगर अधिवेशनले काहारमान स्याङवाको अध्यक्षतामा ४३ सदस्यीय नयाँ बर्दिबास नगर कमिटी निर्वाचित गरेको छ । शुक्रबार अबेर राती सम्पन्न अधिवेशनको निर्वाचन परिणामअनुसार स्याङ्वा नेतृत्वको ४३ सदस्यीय नगर कमिटी निर्वाचित भएको घोषणा भएको हो ।

अधिवेशनमा ३८ जना सदस्य सर्वसम्मत र अध्यक्ष, उपाध्यक्ष, सचिब एक/एक र दुई उपसचिब भने मतदान प्रकृयाबाट निर्वाचित भएका अधिवेशन अध्यक्षमण्डलका अध्यक्ष एमाले पोल्युटव्युरो सदस्य जुलीकुमारी महतोले घोषणा गर्नुभएको हो ।

कूल १३६ प्रतिनिधिमध्ये १३३ जना मतदानमा सहभागी भएका अधिवेशन अध्यक्षमण्डलले जनाएको छ । निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा निर्वाचित स्याङ्वाले ७३ मत प्राप्त गर्नु भएको छ । अध्यक्ष पदका प्रत्यासी अन्य दुई उमेद्वार रोशन गौतम र सम्झना शर्मा पौडेलले क्रमशः ३३ र २६ मत प्राप्त गर्नु भएको अध्यक्षमण्डलले जानकारी दिएको हो ।

त्यसैगरी उपाध्यक्षमा प्रतिमा विश्वकर्मा ४९ मत प्राप्त गरी विजयी हुनुभएको छ । सो पदका अन्य प्रत्यासी सुरजसिंह कुशवाहा र प्रमिला ढुङ्गानाले ४१ र ३७ मत प्राप्त गर्नुभएको छ । सचिब पदमा निरज अधिकारी ६२ मत प्राप्त गरी विजयी हुनुभयो भने यस पदका प्रत्यासी विराट बिष्ट र इनद्रलाल मिरिङचिङले ३७ र २७ मत प्राप्त गर्नुभयो । यसैगरी दुई उपसचिबमा सुनिता महतो (पूनम) र ठकाई महतो क्रमशः ६६ र ४७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

पदाधिकारी र सदस्यसहित ४३ जनालाई नै शुक्रबार राती नै अध्यक्षमण्डलका अध्यक्ष जुलीकुमारी महतोले सपथ गराएसँगै बर्दिबास नगरमा एमालेको नेतृत्वको रिक्तता अन्त्य भएको छ । अध्यक्षमा निर्वाचित स्याङ्वा बर्दिबास-५ का निर्वाचित वडाअध्यक्ष पनि हुनुहुन्छ । अर्का बर्दिबास-३ का वडाअध्यक्ष विराट बिष्ट भने सचिब पदमा पराजित हुनुभयो ।

एमालेको गत फागुन-५ गते सुरु भएको ‘मिसन ग्रासरुट’ अभियान आज शनिबार सकिदैछ । महोत्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर एकका तीन स्थानीयतहहरु (बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका) मै अभियानका क्रममा सदस्यता नविकरण , पार्टीका आधारभूत तह टोल, वडा अधिवेशनहुँदै नगर अधिवेशन सम्पन्न भएका अभियानको महोत्तरी-१ का संयोजकसमेत् रहनुभएकी पोल्युटब्युरो सदस्य जुलीकुमारी महतोले जानकारी दिनुभयो । महोत्तरी-१ कै गौशालामा गत बुधबार सम्पन्न नगर अधिवेशनले अजय कुशवाहा र भङ्गाहामा गत सोमबार सम्पन्न अधिवेशनले चन्द्रनारायण सिंह थारुको अध्यक्षतामा नगर कमिटी सर्वसम्मत चयन गरेको थियो ।

महोत्तरी-१ बाहेकका अन्य तीन प्रतिनिधिसभा क्षेत्रमा भने पार्टीका आधारभूत तहका अधिवेशन आयोजना हुन नसकेका बुझिएको छ । ती क्षेत्रमा सदस्यता नविकरणकै काम आन्तरिक हानाथापले पारदर्शी तवरले सम्पन्न हुन नसक्दा अधिवेशनहरु आयोजना हुन नसकेका आधारभूत तहका एमाले कार्यकर्ता नै बताउँछन् ।

२०८० बैशाख ९, शनिबार ०७:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय