काठमाडौं । गत वर्ष आफ्ना प्रेमीलाई ठगी मुद्दामा पक्राउ गरी जेल पठाएपछि विवादमा परेकी असम प्रहरीकी सब इन्स्पेक्टर जुनमोनी राभाको सडक दुर्घटनामा मृत्यु भएको छ ।

प्रहरीको जानकारी अनुसार राष्ट्रिय राजमार्ग–३७ मा जाखलबन्धा प्रहरी चौकी क्षेत्रअन्तर्गत कालियाबोरको सरुभागिया गाउँ नजिक मंगलबार बिहान यो सडक दुर्घटना भएको हो ।

जुनमोनीले आफ्नै कार चलाएकी थिइन् । त्यही क्रममा उनको कार अगाडिबाट आउँदै गरेको कन्टेनर ट्रकसँग ठोक्किएपछि जुनमोनीको घटनास्थलमै मृत्यु भएको हो ।

यस सडक दुर्घटनाको जानकारी दिँदै जाखलबान्धा प्रहरी चौकी इन्चार्ज पवन कलिताले भने, “दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरीको गस्ती टोली घटनास्थलमा पुगेर जुनमोनीलाई नजिकैको अस्पतालमा लगेको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।”

उत्तर प्रदेशबाट आउँदै गरेको कन्टेनर ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको स्टेशन इन्चार्जले बताए । तर दुर्घटनापछि चालक घटनास्थलबाट फरार भएका छन् ।

नगाउँ जिल्लाको मोरीकोलङ प्रहरी चौकीमा इन्चार्जको रूपमा काम गर्ने जुनमोनीलाई गत वर्ष जुनमा “आपराधिक षड्यन्त्र” र “ठगी” को आरोपमा पक्राउ गरिएको थियो जस अन्तर्गत उनको मंगेतरलाई पनि पक्राउ गरिएको थियो।

उनी केही महिनादेखि जागिरबाट निलम्बित भएकी थिइन् । जेलबाट छुटेपछि उनको निलम्बन फुकुवा भई उनी पुनः सेवामा सामेल भइन् ।

जुनमोनी राभा गत वर्ष जनवरीमा सत्तारुढ बीजेपी विधायक अमिया कुमार भुइयालाई ‘जनप्रतिनिधिको जिम्मेवारी’ सिकाउँदा एक महिला प्रहरी अधिकारीको रूपमा चर्चामा आएकी थिइन्।

दुवैबीच भएको टेलिफोन झगडाको क्लिप पनि मिडियामा बाहिरिएको थियो । जुनमोनी राभाको परिवारले सम्पूर्ण घटनामा षड्यन्त्र भएको आरोप लगाएको छ ।

२०८० बैशाख २९, शुक्रबार ०९:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय