महोत्तरी : मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले सामुदायिक विद्यालय, कलेज र अन्य शिक्षासम्बद्ध संस्थाको गिर्दो साख अहिले मुख्य चुनौती बनेको बताउनुभएको छ । महोत्तरीको बर्दिबास-१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस बर्दिबासको चौथो क्याम्पस सभा (प्राज्ञसभा)को उद्घाटन गर्दै मण्डलले सामुदायिक शैक्षिक संस्थाको गिर्दो अविश्वासलाई विश्वासमा परिणत गर्नु मुख्य चुनौती देखिएको बताउनुभएको हो ।

सामुदायिक विद्यालय र कलेजहरुमा राज्य र समुदायको ठूलो लगानी भएपनि जनताको पङ्तिमा विश्वास क्रमशः घट्दै गएको उहाँको भनाइ छ । “बस्तीबस्तीमा स्थापित विद्यालयमा मनकारी दाताहरुले ठूलो लगानी गर्नु भएको छ, राज्यको पनि ठूलो धनराशी शिक्षामा गइरहेको छ”मण्डलले भन्नुभयो, “तर परिणाम सकारात्मक छैन ।” हाम्रो शिक्षा प्रणाली नै परिमार्जनको अवस्थामा रहेको उहाँले औंल्याउनुभयो । अहिलेको सिकाइ पद्धति र शिक्षक एबं विद्यार्थीबीचको सम्बन्ध समयानुकूल वैज्ञानिकिकरण गर्न नसकिएको मण्डलको निष्कर्ष छ ।

”हेर्नोस न, भवनदेखि अन्य भौतिक पूर्वाधरका दृष्टिले हाम्रा कलेजहरु ठिकै देखिन्छन् , तर विद्यार्थी चाँही निजी विद्यालय र कलेजमा पुग्छन्” मण्डलले भन्नुभयो, “अब तीनै तहका सरकार र सम्बद्ध शिक्षाक्षेत्रले यसको जवाफ (समाधान) खोज्नुपर्दछ ।” आम रुपमा सामुदायिक शिक्षालयहरुको साख गिरीरहेका बेला बर्दिबास जनता बहुमुखी क्याम्पसले पाएको सफलता भने सिङ्गो मधेशकै लागि अनुकरणीय बनेको मण्डलले उल्लेख गर्नुभयो ।

“सामुदायिक विद्यालय र कलेजहरु धरासायी बन्दैछन् , तर तपाईंहरुको कलेज विद्यार्थी र अभिभावकको छनौटमा पर्दैछ, यस कार्यमा व्यवस्थापन समिति, अभिभावक, शिक्षक र विद्यार्थीको ठिक समन्वयले काम गरेको हुनपर्छ ।”

कार्यक्रममा क्याम्पस प्रमुख तोपबहादुर ठकुरीले हाल कलेजमा एकहजार १३९ छात्रछात्रा अध्ययनरत रहेका र यिनमा छात्राको सङ्ख्या ५० प्रतिशत माथि रहेको जानकारी दिनुभयो । नगरपालिका भनिए पनि ग्रामीण परिवेसका बस्तीबाट टाढा पढ्न जान नपाएका छोरी/बुहारीका लागि अहिले आफ्नो कलेज उच्च शिक्षाको गन्तव्य बनेको ठकुरीको भनाइ छ ।

विक्रम सम्वत् २०६४ सालमा त्रिभुवन विश्व विद्यालयबाट शिक्षा शास्त्र र वाणिज्य शास्त्र (बिबिएस)को स्नातक तह अध्यापनको स्वीकृति पाएको यो क्याम्पसमा २०७५ देखि शिक्षा शास्त्र सङ्कायमा स्नातकोत्तर तहको अध्ययन/अध्यापन हुँदै आएको छ । क्याम्पसका आफ्नै दुई वटा तीन तले भवनमा ३२ कोठा सञ्चालनमा छन् । कलेजको स्थायी आम्दानी विद्यार्थीबाट लिइने शुल्कमात्र भएको अवस्थालाई अब अन्य विकल्प खोज्न बनाउन अपरिहार्य भएको कार्यक्रममा वक्ताहरुले औंल्याएका छन् ।

समारोहमा राष्ट्रियसभाका पूर्वउपाध्यक्ष शशिकला दाहाल, मधेश प्रदेशसभाका सदस्यहरु भरतप्रसाद साह र शारदादेवी थापा, बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षत्रीसहितका वक्ताले क्याम्पसको शैक्षिक स्तर अझ खार्न र गुणस्तरीय शिक्षा प्रवाहका कार्यक्रममा आपूmहरुको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समारोह क्यामपस व्यवस्थापन समितिका अध्यक्ष गुञ्जबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।

२०८० बैशाख ३०, शनिबार २०:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय