काठमाडौं : नेपाली कांग्रेसका सांसद राजु थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नीति तथा कार्यक्रम कसरी कागजको खोष्टो भयो ? भनेर प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक बर्ष २०८०, ८१ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदैं सांसद थापाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कसरी कागजको खोष्टो भयो भनेर प्रश्न गरेका हुन्।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका पुर्वप्रधामन्त्री ओलीले नीति तथा कार्यक्रम कागजको खोष्टो बराबर भएकोले पुर्नलेखनको माग गरिरहेका बेला सत्ता पक्षका दलका सांसद थापाको यस्तो भनाइ आएको हो।

सांसद थापाले भने, ‘सरकारले नीति तथा कार्यक्रम घोषणा गरिरहँदा यो देशको नेतृत्व सम्हाल्नुभएका केपी ओलीले नीति तथा पुर्नलेखन हुनुपर्छ, केबल यो एउटा कागजको खोष्टा छ भनेर जनतालाई ढाट्ने प्रयास मात्र हो।’

उनले विश्वभर आर्थिक संकट आएको सन्दर्भमा विगतमा कोभिड, भूकम्प, नाकाबन्दी र संविधान निर्माणका बेलामा जस्तो एकजुट हुुनुपर्नेमा जोड दिए।

थापाले अहिलेको नीति तथा कार्यक्रम नेपालको परिवेषलाई सम्बोधन गर्दै कृषि, जलश्रोत र पर्यटन हाम्रा प्रमुख आधार भएकोले त्यही आधारलाई टेकेर ल्याईएको भन्दै कसरी कागजको खोष्टो मात्र हुन्छ ? भन्दै ओलीलाई प्रतिप्रश्न गरे।

‘ओलीज्यूले पुर्नलेखन भनेको पनि सुने के को लागि पुर्नलेखन ? के तपाईले भनेजस्तो पानीजहाजको कुरा लेख्नुपर्ने हो ? के तपाईले भनेजस्तो घर घरमा ग्यासको पाइप भनेर लेख्नुपर्ने हो ? के तपाइले भनेजस्तो एक घर एक रोजगारी लेख्दिन पर्ने हो ? के तपाईले भनेजस्तो कुनै नेपाली भोकले मर्दैन् भनेर लेख्दिनपर्ने हो ?,’ थापाले भने, ‘तर, देशको मुल आधार भनेकै यहि कृषि हो, यहि जलश्रोत हो, यहि पर्यटन हो, यहि जनशक्ति हो , यसैको जडमा नीति तथा कार्यक्रम आएको छ।‘

नीति तथा कार्यक्रमले आम नेपालीमा आशा, भरोसा जगाएको भएपनि विगतमा प्रायः नीति तथा कार्यक्रमको ४० प्रतिशत पनि कार्यान्वयन हुन नसकेकोले यसलाई कार्यान्वयन गराउनु सबैको जिम्मेवारी भएको थापाले बताए।

यसरी सरकारले घोषणा गरेका कार्यक्रम कार्यान्वयन हुन नसक्नुमा भष्ट्राचार मुल जड भएकोले भष्ट्राचार निर्मूल पार्ने सबैको एजेण्डा भएकोले यसको बिरुद्धमा सबै दल एकजुट भएर संकल्प गर्नुपर्नेमा उनको जोड थियो।

उनले संसदलाई खाली घोचपेचको थलो बनाउनुभन्दा पनि देश बनाउने कार्यमा सबै एकजुट हुनुपर्ने बताए।

२०८० जेष्ठ ८, सोमबार २०:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय