
जनकपुरधाम : नेकपा माओवादी केन्द्रले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । यद्यपी समर्थन भने कायमै राख्ने भएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरत प्रसाद साहले दलको बैठकले सरकार छाड्ने निर्णय गरिएको जानकारी दिए ।
उनले भने, ‘हामी जसपा नेतृत्वको मधेस सरकारबाट बाहिरिएका छौं । तर, सरकारलाई दिएको समर्थन भने तत्काल कायमै राख्ने निर्णय गरेका छौं । मन्त्रालय भागबण्डाका लागि सोमबार दिउँसो बसेको बैठकमा हामीले दुईवटा मन्त्रालयमा दाबी गरेपनि सहमति जुट्न नसक्दा सरकारबाट बाहिरिएका छौं ।’
उनले सरकारको नेतृत्व गरिरहेको जसपाले कुनै पनि निर्णय गर्दा एकलौटी गरेको र गठबन्धन दलसँग कुनै सल्लाह नगरि मनोमानी गरिरहेकोले सरकारमा बस्नुको औचित्य नरहेको बताए ।
गठबन्धनभित्रका अन्य दलहरु लोकतान्त्रिक समाजवादी पार्टी र जनमत भने अझै अन्यौलमा छ । जनमतबाट मन्त्री बनेका बसन्त कुशवाहाले सम्हाल्दै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खोसिएको छ । लोसपाले पनि भागबण्डामा चित्त नबुझेको जनाएको छ ।
मुख्यमन्त्री यादवले गत माघ २४ गते तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दा नेकपा माओवादी केन्द्रबाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले शपथ लिएका थिए ।
यसैबिच, मुख्यमन्त्री यादवले मंगलबार नेपाली कांग्रेसबाट कृष्ण प्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र विरेन्द्र प्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेका छन् । त्यस्तै, एकीकृत समाजवादीबाट गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त तिनै जना मन्त्रीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।