
बर्दिबास : बर्दिबास उद्योग वाणिज्य सङ्घ (महोत्तरी) को १५ लाखको अक्षय कोष स्थापना भएको छ । सङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले निजी सहयोगमा पाँच लाख ५१ हजार १११ को र सङ्घको कार्यसमितिले १० लाख २४ हजार रकमको सहित दुईवटा आकष्मिक सहयोग अक्षय कोष आज एक समारोहबीच स्थापना भएको हो ।
सङ्घका अध्यक्ष खड्काले प्रदान गर्नु भएको रकमबाट ‘बर्दिबास उद्योग वाणिज्य सङ्घ, विष्णुबहादुर खड्का अक्षय कोष’ र सङ्घको कार्यसमितिले आफ्नै आम्दानीबाट स्थापना गरेको कोषलाई ‘बर्दिबास उद्योग वाणिज्य सङ्घ, विपद् व्यवस्थापन कोष’ भनिएको महासचिब उत्तम श्रेष्ठले बताउनुभयो । दुबै कोष प्राइम कमर्सियल बैंक बर्दिबास शाखामा मूल रकम नचलाइने र वार्षिक व्याजबाट सङ्घका सदस्यलाई आकष्मिक विपदमा सहयोग गर्नेगरी कोषको कार्यविधि बनाइएको श्रेष्ठको भनाइ छ ।
स्थापित दुबै कोषमध्ये अध्यक्ष खड्काले स्थापना गर्नुभएको कोषमा तीन वर्षभित्र अक्षय कोषको रकम १५ लाख पुर्याइने प्रतिबद्धता जनाइएको छ । “मेरो नाउँमा स्थापित कोषको रकम तीन वर्षभित्र (२०८२ मङ्सिरभित्र) १५ लाखको बनाइने प्रतिबद्धता जनाउँछु” समारोहमा अध्यक्ष खड्काले भन्नुभयो ।
त्यसैगरी अर्को विपद् व्यवस्थापन कोषमा पनि बर्सेनि रकम थप हुँदै जाने सङ्घले जनाएको छ । यसपालि गत चैतमा सम्पन्न ११ दिने चौथो बर्दिबास महोत्सवको आम्दानीबाट बचत रकम १० लाख र सदस्यहरुबाट २०७९ सलाको सदस्यता नविकरण र संस्थादर्ता शुल्कबाट प्राप्त २४ हजारसहित प्रारम्भमा १० लाख २४ हजारको कोष स्थापना गरिएको महासचिब श्रेष्ठले जानकारी दिनुभयो । सङ्घले सदस्यता नविकरण गर्दा र संस्था (उद्यम) दर्ता गर्दा प्रत्येकबाट अक्षय कोषका लागि २०० लिइने निणर्य गरेको छ ।
विपद् व्यवस्थापनका लागि दुई वटा कोष स्थापना भएपछि अब सदस्यहरुले आपत्कालीन सहयोग पाउने आधार बनेको यहाँका ब्यापारी उद्यमीले बताएका छन् । गत पुसमा सङ्घको निर्वाचनका बेला विपद् व्यवस्थापन कोष स्थापना गर्ने प्रतिबद्धताअनुसार अध्यक्ष र कार्यसमितिबाट दुई छुट्टाछुट्टै कोष स्थापना गरिएको समारोहमा जानकारी दिइएको छ ।