
नेपालवाणी / जनकपुरधाम
जनकपुरधाम उप–महानगरपालिकाका एक वडा अध्यक्ष माथि अभद्र व्यवहार तथा कुटपिट मुद्दा दर्ता भएको छ । जनकपुरधाम उप–महानगरपालिका २४ बसहियाका वडाध्यक्ष आपेन्द्र सहनी माथि अभद्र व्यवहार तथा कुटपिट मुद्दा दर्ता भएको हो ।
बसहिया स्थित जदुराउत पोखरीको ऐलानी डिलमा वडाध्यक्ष सहनीले जातीय धर्मशाला बनाउन खोज्दा स्थानीयले विरोध गरेपछि सहनी सहित प्रमोद सहनी, चन्दन सहनी, शिवरत्न सहनी लगायतले सुनिल यादव, सुरुज यादव, अमीर्ती देवी, अजय राउत लगायतका करिब एक दर्जन व्यक्तिलाई निर्घात कुटपिट गरेपछि प्रहरीले अभद्र व्यवहार तथा कुटपिट मुद्दा दर्ता गरेको हो । यता मुद्दा दर्ता भएसंगै वडाध्यक्ष फरार भएको श्रोतले जनाएको छ ।
गत बिहीबार ८ बजेको समयमा बसहियाको जदुराउत पोखरीको डिलमा अवस्थित ऐलानी जग्गामा वडाध्यक्ष सहनीले सहनी धर्मशाला बनाउन खोज्दा स्थानीयवासीले विरोध जनाउँदा वडाध्यक्षको मानिसहरुले स्थानीयलाई कुटेको थियो । बसहियाका स्थानीयहरुले सार्वजनिक जग्गामा कुनै एक जातको जातीय कुट्टी नबनाई सामुदायिक दलान बनाउनु पर्ने माग सहित विरोध गरेको थियो । सोही क्रममा वडाध्यक्ष र उनीहरुको मानिसको कुटपिटबाट ३५ वर्षीय सुनिल यादवको अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि शनिबार साँझ प्रादेशिक अस्पताल जनकपुरधामबाट काठमाडौं लगिएको छ ।
केही दिन अगाडि उक्त वडाका प्रत्याशी उम्मेदवार विशेश्वर शर्मा सहितका स्थानीयले वडाध्यक्ष सहनी विरुद्ध नगर प्रमुख मनोजकुमार साहलाई ११ बुँदे ज्ञापन पत्रसमेत बुझाएका थिए । गत वैशाख २१ गते वडाअध्यक्ष सहनीले नगर प्रहरी र जिरोमाइल प्रहरी चौकीको सहयोगमा सिक्सलेन सडक खण्डमा रहेको भोला मण्डलको बालुवा उठाई उपमहानगरमा नबुझाई बेचेको र बाँकी आफ्नै बालुवा गिट्टीको डिपोमा राखेको लगायतका उनीहरुको आरोप थियो ।
वडाध्यक्ष सहनी विरुद्ध प्रदर्शन
जनकपुरधाम उप–महानगरपालिका २४ बसहियाका स्थानीयबासीले जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गरेका छन् । स्थानीयबासीहरूले सोही वडाका वडाअध्यक्ष उपेन्द्र सहनी विरुद्ध विरोध प्रदर्शन गर्दै आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गरेका हुन् ।
उनीहरूले सार्वजनिक जग्गा जातीय अतिक्रमण गर्न पाइँदैन, भ्रष्ट र तानाशाह वडाअध्यक्ष मुर्दावाद, दोषीलाई कारबाही गर, सामाजिक सद्भाव कायम गरलगायतका मागसहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । घटना पश्चात् स्थानीय प्रशासनले मिलापत्र गर्न दबाब दिएको भन्दै आइतबार जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय घेराउ गरेको स्थानीय विजय यादवले जानकारी दिए । उनीहरुले कुटपिट गर्नेमाथि मुद्दा दर्ता गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापन पत्रसमेत बुझाएका छन् ।