बर्दिबास, १६ जेठ ।

यसपालिको गणतन्त्र दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखा (महोत्तरी) ले किसानलाई अत्यन्त गुणकारी तथा स्वास्थ्यवर्धक फल मेवाका बिरुवा वितरण गरेको छ ।

गणतन्त्र दिवसको सन्दर्भ जनवीविका र घरघरसँग जोड्न यस अवसरमा रेडक्रस उपशाखाले ५०० मेवाका बिरुवा उपलब्ध गराएको हो । हिजो सोमबारदेखि थालिएको यो कार्यक्रममा आज मध्यान्हसम्म २५० किसानले बिरुवा लगेका उपशाखा सभापति रेवन्त कार्की ‘सुदीप’ले जानकारी दिनुभयो ।

“हामीले नमुनाका लागि उन्नत जातका ५०० बिरुवा वितरण गर्‍यौं” सभापति कार्कीले भन्नुभयो, “मेवा राम्ररी हुर्केर फलेपछि राष्ट्रिय महत्वको पर्व गणतन्त्र दिवसलाई गरिब किसानले अझ बढी अपनत्व लिनेछन् ।” नारा, जुलुस र यस्तै अन्य कार्यक्रममा वास्ता र सहभागिता घट्दै गएपछि आम किसानलाई गणतन्त्रबारेको चासो जगाइ राख्न यसपालि यो रचनात्मक कार्यक्रम बनाइएको रेडक्रस उपशाखा बर्दिबासले जनाएको छ ।

गरिब किसानलाई करेसाबारीमा हुर्काउने गरी उपलब्ध गराइएको बिरुवाको अवस्थाबारे नियमित अनुगमन गर्ने र मेवाखेतीसम्बन्धमा उत्प्रेरित गराइ रहिने सभापति कार्कीको भनाइ छ । किसानको अभिलेख खडा गरेर बिरुवा वितरण गरिएको छ । मेवा राम्ररी हुर्काउने किसानलाई यसैगरी अरु राष्ट्रिय पर्वको अवसर पारेर थप प्रोत्साहनको व्यवस्था गरिने सभापति कार्कीले बताउनुभयो ।

गरिब किसानले फलपूmल किनेर खान अर्थाभावले नसक्ने हुँदा यस्ता वर्गलाई घरमै गुणकारी फल ख्वाउने उद्देश्य कार्यक्रमको रहेको रेडक्रस उपशाखाले जनाएको छ । कार्यक्रमले राष्ट्रिय पर्व गणतन्त्र दिवस र गुणकारी फल मेवाबारे सर्वसाधारणमा सकारात्मक चासो बढाउन सहयोग पुग्ने विश्वास लिइएको सभापति कार्कीको भनाइ छ ।

मेवाको बिरुवा पाउने सर्वसाधारणले यसलाई करेसाबारीमा राम्रो सुरक्षा दिएर हुर्काउने प्रतिबद्धता जनाएका छन् ।

२०८० जेष्ठ १६, मंगलवार २०:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय