
जनकपुरधाम: मिथिला विहारी नगरपालिकाका स्वास्थ्यकर्मीहरु आन्दोलित भएको छ । धनुषाको मिथिला विहारी नगरपालिकाका स्वास्थ्यकर्मीहरु तलव भत्ता लगायतको माग गर्दै ११ दिन देखि आन्दोलित भएका हुन् ।
स्वास्थ्यकर्मीहरुले आकस्मिक (ईमेरजेन्सी) बाहेकको सबै सेवा बन्द गरी विगत ११ दिन देखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आर्थिक वर्ष विगत ८ महिना देखिको बाँकी तलव भत्ताको व्यवस्था गर्न, बाँकी रहेको पोशाक भत्ताको रकम लगायतको माग पुरा गराउन धर्ना बसेका हुन् ।
स्वास्थ्यकर्मीहरुले नगरपालिकाको मिथिला विहारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तारापट्टीको मूल गेटमा विभिन्न ६ सुत्रिका मागहरु राख्दै आन्दोलनमा उत्रिएको सघर्ष समितिका अध्यक्ष ओम प्रकाश यादवले जानकारी दिए । उनले भने, ‘हामी स्वास्थ्यकर्मी दिनरात नभनी खटिरहेका हुन्छौं, तर हाम्रो सेवा सुविधा ८ महिना देखि नपाउँदा हातमुख चलाउन समस्या भैसक्यो ।’
आर्थिक वर्ष २०८०÷०८१ देखि नियमित रुपमा महिनाबारी तलवको व्यवस्था गर्न, हरेक स्वास्थ्य चौकीहरुमा औषधिको सहज व्यवस्थापन गर्न, विगत तीन वर्षदेखि बाँकी रहेको नागरिक लगानी कोष र संचय कोषको रकम समयमै जम्मा गर्न माग अघि सारेको छ । स्वास्थ्यकर्मी संघर्ष समितिका अध्यक्ष ओम प्रकाश यादवले भने, ‘मेयर साब देखि हाकिम साब सम्मले यो वर्ष स्वास्थ्यकर्मीको लागि बजेट नै नआएको भन्दै पन्छिन खोेजेको छ । सबैको बजेट पालिकामा आएको छ, तर हाम्रो मात्रै बजेट आएन कस्तो अनर्गल कुरा हो यो ?’
मिथिला विहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादवले सिडियो कार्यालयको मिटिङ्ग रहेकोले बोल्न नमिल्ने बताए । उनले भने, ‘मिटिङ्गमा तपाई कसरी बोल्नु पछि कुरा गरौंला ।’ कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवले फोन उठाएर बोल्न चाहेनन् । उनले पहिलो पटक फोन उठाएपनि दोश्रो पटक फोन काटिदिए ।