महोत्तरी, २५ जेठ । मधेशको मिथिलाक्षेत्रमा विघ्नहारिणी देवीका रुपमा पूजित संसारीमाईको महापूजामा विमानबाट पुष्पवृष्टि हुने भएको छ ।

महोत्तरीको जलेश्वर नगरस्थित देवीको जारी महापूजाको आठौं र अन्तिम दिन भोलि शुक्रबार पूजा मुहुर्तमा मटिहानी नगरपालिकाले विमानबाट पुष्पवृष्टि गर्ने भएको हो । मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले विमानबाट पुष्पवृष्टिको सबै तयारी गरिएको पुष्टि गर्नु भएको छ ।

“संसारीमाईको महापूजा मिथिलाको विशिष्ट साँस्कृतिक उत्सव हो, हामी यसलाई वैदिककालीन जनश्रुतिका पुष्पवृष्टिका कथासँग तारतम्य मिलाउन चाहान्छौं” नगरप्रमुख मण्डलले भन्नुभयो, “त्यसैले भोलि शुक्रबार महापूजाको माङ्गलिक मुहुर्तमा विमानबाट संसारीमाई मन्दिर परिसर, श्री जलेश्वरनाथ मन्दिर परिसर र जलेश्वर नगरका बिभिन्न क्षेत्रमा पुष्पवृष्टि गरी हर्ष बढाइँ गर्न लागेका हौं ।” यस कार्यका लागि प्रभु हेलिकप्टर प्रालिको विमान (हेलिकप्टर) भाडामा लिइएको नगरप्रमुख मण्डलले स्पष्ट पार्नुभयो । पुष्पवृष्टि मध्यान्हपूर्व साढे एघार बजे (११.३० बजे) हुने निश्चित गरिएको छ ।

मिथिला क्षेत्रका प्राचीन परम्परा र साँस्कृतिक पर्व सबै मैथिलका साझा भएका हुँदा यसको प्रबद्र्धन र प्रचारमा सबैले जिम्मेवारी लिनपर्ने नगरप्रमुख मण्डल बताउनुहुन्छ । “संसारीमाई महापूजा मूल व्यवस्थापन समितिले पुष्पवृष्टिको जिम्मेवारी वहन गरीदिन अनुरोध गर्‍यो, हामीले स्वीकार गर्‍यौं” नगरप्रमुख मण्डलले भन्नुभयो ।

अन्तिम दिन विमानबाट पुष्पवृष्टि हुने कुराले महापूजाको चर्चा झनै चुलिएको छ । अहिले जलेश्वर नगरका घरघरै पाहुनाको लर्को छ । महापूजामा सहभागी हुन आउनेमा धेरै भारतीय छन् । यसपालि माईको दर्शन र पूजाअर्चना गर्ने र महापूजा मेलामा सहभागी हुनेको सङ्ख्या १० लाख नाघ्ने समितिका अध्यक्ष अशोककुमार साहको भनाइ छ ।

गत शुक्रबार (जेठ १९ गते) प्रारम्भ भएको महापूजाको भोलि अन्तिम अर्थात आठौं दिन हो । भोलि साढे एघार बजे संसारीमाईलाई पञ्चवलि (कुखुरा/परेवा (पङछी), बोका, भेडा, राँगा र सुँगुँर) दिएपछि भाकल वलि सुरु हुनेछ । प्रत्येक पाँच वर्षमा आयोजना हुने महापूजाको समय देवीले मुख्य पुजारीलाई स्वप्नमा बताएपछि त्यसैअनुसार तयारी थालिने जलेश्वरको परम्परा रहेको छ । पहिले १२/१२ र त्यसपछि सात/सात वर्षमा आयोजना हुँदै आएको महापूजा दुई दशकयता पाँच/पाँच वर्षमा गरिन थालिएको हो । यो पनि देवीले स्वप्नमा दिनुभएको आदेशअनुसार नै भएको मुख्य पुजारी महेन्द्र मुखियाको भनाइ छ ।

२०८० जेष्ठ २५, बिहीबार १८:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय