
बर्दिबास, २५ जेठ । “ओह…हम कत्त छी ?” (ए, म कहाँ छु ?) सर्पको डसाइले छ दिनपछि होस खुलेकी महोत्तरीको गौशाला-१ रामनगरकी नौ (९) वर्षीया खुशी महतोले जनसेवा अस्पताल बर्दिबास-३ को भेन्टिलेटरकक्षबाट आइसियुकक्षमा सारिदै गर्दा आश्चर्य भावमा भनिन् । गत शनिबार बिहान घरमा खेल्दै गर्दा विषालु सर्प गोमनको डसाइबाट अचेत भएकी खुशीको अस्पतालको भेन्टिलेटरकक्षमा लगातार छ दिनको सघन उपचारपछि आज होस खुलेको हो ।
सर्पले डसेदेखि अचेत भएकी खुशीले आपूm अस्पताल ल्याइएको र उपचारले ठिक भएको अब थाहा पाएकी छन् । “हम ठिक भगेली” (म ठिक भइसकें) उनले आँखाका डिलबाट आँसु झर्दै गर्दापनि थोरै मुस्कान दिदै भनिन् , “आब घर जबै” (अब घर जानेछु) । खुशीलाई शनिबार बिहान घरआँगनमा खेलीरहेका बेला अति विषालु गोमन सर्पले देब्रे गोडाको तल्लो भाग पैतालामाथि लगातार दुईपटक डसेको थियो । डसेको १५ मिनटभित्रै बर्दिबास-३ स्थित सर्पदंश उपचार केन्द्र पुर्याइएकी उनलाई लगत्तै भेन्टिलेटरको सघन उपचार दिन थालिएको थियो ।
गोमनले डसेर अचेत भएकी खुशीकोे भेन्टिलेटरमा पाँच दिनको सघन उपचारले हिजो साँझ होस फिरेपछि उनी स्वयं, परिवारजनमात्र नभई सर्पदंश उपचार केन्द्र बर्दिबास-३ गौरीडाँडाका प्राविधिक एबं जनसेवा अस्पतालका चिकित्सक र सञ्चालक पनि दङ्ग छन् । “भाञ्जीले नयाँ जीवन पाइन्” खुशीलाई सर्पले डसेदेखि उनको उपचारमा पारिवारिक दायित्व बोक्दै आएका मामा शिवनारायण महतोले भन्नुभयो ।
संयोग नै भन्नपर्छ, जनसेवा अस्पतालले भेन्टिलेटरकक्ष सञ्चालनमा ल्याएलगत्तै त्यसको पहिलो सेवा खुशीले पाएकी हुन् । “हामीले भर्खरै सेवा सुरु गरेका हौं, भेन्टिलेटरकक्षको सेवा लिने पहिलो बिरामी नै खुशी हुन् , उनी होसमा फिरेसँगै आपूmले थालेको नयाँ सेवाबारे भरोसा जागेको छ”जनसेवा अस्पताल सञ्चालक सुमन भुजेल भन्नुहुन्छ, “अब आफ्नो काम सेवामा दरिन्छ भन्ने विश्वास जागेको छ ।”
सर्पदंश उपचार केन्द्र बर्दिबासले रेफर गरेका बिरामी फिरेका यो दुर्लभ घटना हो । “केन्द्रमा गम्भीर अवस्थामा ल्याइएका बिरामीलाई भ्यान्टिलेटरको सघन उपचार आवश्यक पर्छ, त्यसका लागि रेफर गर्नै पर्छ, हामीले पनि त्यो गर्दै आएका छौं” केन्द्रमा सर्पदंश उपचारमा खटिएको नेपाली सेनाको प्राविधिक टोलीका प्रमुख उत्तम कटुवाल भन्नुहुन्छ, “खुशीलाई रेफर गरिएको केही मिनटभित्रै भेन्टिलेटरको सघन उपचार सुरु हुनसक्यो, उनले नयाँ जीवन पाइन् ।” केन्द्रबाट १०० मिटरभित्रै साधन सम्पन्न अस्पताल भएको हुँदा तुरुन्त सघन उपचार सम्भव भएपछि यो सुखद परिणाम पाइएको कटुवाल बताउनुहुन्छ ।
सर्पदंशका गम्भीर अवस्थाका बिरामी तत्काल भेन्टिलेटरको सघन उपचार दिन नपाएरै मृत्यु हुने गरेको विगत अब हट्ने बर्दिबासक्षेत्रमा आश जागेको छ । खुशीलाई सर्पले डसेको १५ मिनटभित्र मामाले केन्द्रमा ल्याई पुर्याएका र लगत्तै भेन्टिलेटरमा लगिएको थियो । “उनलाई (खुशीलाई) शनिबार बिहान पउने नौ बजे सर्पले डसेछ, १५ मिनटमा उनी केन्द्रमा ल्याइइन् , नाजूक अवस्थाकी उनलाई तत्कालै रेफर गरिएर भेन्टिलेटरमा पुर्याइयो, उनी फिरिन्” सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष कृष्ण देवकोटा भन्नुहुन्छ, “हामीले रेफर गरेका बिरामी फिरेका यो दुर्लभ घटना हो ।” केन्द्रसँगै जोडिएको अस्पतालमा सुरु भएको नयाँ सेवाले खुशीले नयाँ जीवन पाएकी देवकोटा बताउनुहुन्छ । मुख्यत सर्पले डसेका गम्भीर प्रकृतिका बिरामीका लागि आवश्यक पर्ने भेन्टिलेटरको सघन उपचार समयमा नपाएर बिरामीको मृत्यु हुने गरेको उहाँको भनाइ छ ।
यसैबीच केन्द्र नजिकै अत्याधुनिक भेन्टिलेटर र आइसियुकक्ष सञ्चालनमा आएसँगै अब सर्पदंशबाट हुने मानवीय क्षति हुनै नदिन थप चासो बढेको छ । यसका लागि केन्द्रलाई अति आवश्यक उपकरण र सामग्री थप्ने काममा रेडक्रस सोसाइटी बर्दिबास उपशाखाको अग्रसरतामा बिभिन्न सामाजिक सङ्संस्थाले पहलकदमी बढाएका छन् ।
“हामीले केन्द्रलाई साधन सम्पन्न बनाउन भर्खरै (बुधबार) भ्याक्सिन फ्रिज (एन्टी स्नेक भेनम सुई सुरक्षित भण्डारण गर्ने फ्रिज), पोटेबल भेन्टिलेटर (सिकिस्त बिरामीलाई तत्काल सघन उपचार गर्दै अस्पताल पुर्याइन प्रयोग गरिने भेन्टिलेटर) , ओक्सीलेटर र भेनम ओसार्न प्रयोग गरिने सुरक्षित आधुनिक बाकससहितका सामग्री हस्तान्तरण गरेका छौं” रेडक्रस बर्दिबास उपशाखाका सभापति रेवन्त कार्की ‘सुदीप’ भन्नुहुन्छ , “हामीले केन्द्रलाई सहयोगको अपिल गर्यौं, बर्दिबास हेल्प फाउण्डेशनका साथीले अभियान नै सञ्चालन गरेर सङ्कलित रकम हामीलाई दिनुभयो, त्यसैगरी बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाले पनि सहयोग गर्यो ।” मानवीय सेवाका क्षेत्रमा हात फैलाएपछि सहयोग जुट्दो रहेछ भन्ने दृष्टान्त पनि मिलेको उहाँको भनाइ छ ।
भेन्टिलेटरको सघन उपचारले खुशी फिरेपछि अब गम्भीर प्रकृतिका बिरामीको उपचार यहाँ सम्भव छ भन्ने विश्वास सबैमा जाग्ने नगरप्रमुख प्रल्हाद क्षत्री बताउनुहुन्छ । अब बर्दिबास अस्पताललाई पनि स्तरोन्नति गराउँदै लगिने र चाँडै भेन्टिलेटरसहितको सेवा सञ्चालन गरिने क्षत्रीको भनाइ छ । “अब हाम्रो सरकारी अस्पताल (बर्दिबास अस्पताल) लाई पनि साधन सम्पन्न बनाइने छ” क्षत्रीले भन्नुभयो, “साधन सम्पन्न अस्पताल जति थपिन्छन् , आम सर्वसाधारणको स्वास्थ्य सेवा पहुँच उतिकै बढ्दै जानेछ ।”
‘सर्पको खानी’ भनिने बर्दिबास नगरक्षेत्रमा बर्सेनि विषालु सर्पको डसाइले मानवीय क्षति हुँदै आएको छ । पछिल्लो पटक आफ्नै नगरका अस्पतालमा अत्याधुनिक सुविधायुक्त सेवा बढ्दै गएपछि अब चैं उपचार नै नपाएर मर्नु परोइन भन्ने बर्दिबासबासीमा आश जागेको छ ।