नेपालवाणी / जनकपुरधाम ।  धनुषा जिल्ला अदालतले रहस्यमय मृत्यु भएको आरती साहको मुद्दामा अभियुक्त बनाइएका उनका श्रीमान् र ससुरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश रामप्रसाद न्यौपानेको एकल इजलासले आरतीका श्रीमान् मोतिबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

गत जेठ ७ गते साँझ आफ्नै घरमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका श्रीमान् मोतीबाबु र ससुरा मदन मोहनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी भनिएकी आरतीको घाँटी लगायत शरीरका अन्य भागमा पनि निलडाम तथा घाउचोट भेटिएपछि उनको हत्या भएको भन्दै किटानी जाहेरी दिइएको थियो ।

त्यसपछि अनुसन्धान गरेको प्रहरीले घटनामा आरतीका श्रीमान् र ससुराको संलग्नतामा घटना भएको देखिएपछि जिल्ला सरकारी वकिल कार्यालय धनुषाले अदालतमा मुद्दा दायर गरेको थियो । गत अषाढ १ गते दर्ता भएको मुद्दामा अषाढ ३ मा लगातार थुनछेक बहस भएको थियो । प्रतिवादीतर्फ धेरै कानुन व्यवसायी रहेको कारण हेर्दाहेर्दैमा राखेर उक्त मुद्दामा बहस सुनिएको थियो ।

मंगलबार खाजा समय अघि बहस सकिएपछि न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले दुवै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अदालतमा ढुंगामुढा

रहस्यमय मृत्यु भएको आरती साह न्याय माग्दै माइतीपक्षले जिल्ला अदालत धनुषामा ढुंगामुढा गरेका छन् । धनुषा प्रहरीले हत्यारालाई जोगाउन खोजेको भन्दै माइतीपक्षले मंगलबार धनुषा जिल्ला अदालत अगाडि प्रदर्शन गर्दै अदालत परिसरमा ढुंगामुढा गरेका थिए ।

मृतक आरतीको माइतीपक्षले अदालत परिसरमा ढुंगामुढा गर्दा प्रहरीसँग झडप समेत भएको छ । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा नगराईन नगरपालिका–८ खिरखिरिया बस्ने लिला देवी, लाडो बति देवी, कृष्णा साह र प्रवीण साह छन् । प्रहरीले सोही ठाउँ बस्ने गोविन्द साहलाई पक्राउ समेत गरेको छ ।

परिवारजनले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । पीडित परिवारलाई उल्टै धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमले कुटपिट गरेको भन्दै उनीहरुलाई तत्काल कारबाही गर्न माग गर्दै विरोध गरिएको हो ।

गत जेठ ७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २२ वर्षीय आरतीको रहस्यमय मृत्यु भएको थियो । उनीहरूले एसपी र डीएसपीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआइबीद्वारा जाँच लगायत ६ सुत्रीय माग राखेका थिए ।

२०८० असार ५, मंगलवार १७:४०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय