![](https://nepalvani.com/wp-content/uploads/2023/06/andolan.jpg)
जनकपुरधाम : सरकारले न्यायपूर्ण व्यवहार नगरेको भन्दै अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् ।
आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारले अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेपछि उनीहरु आन्दोलित भएका छन् ।
नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनको अगुवाइमा उनीहरुले जिल्ला हुलाक कार्यालय अगाडि धर्नामा बसेका छन् ।
अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरु विभिन्न ४ वटा माग अगाडी सारेका छन् ।
अतिरिक्त हुलाक खारेजको निणर्य तत्काल फिर्ता गर्न, अतिरिक्त हुलाकमा लामो समयदेखि कार्यरत कर्मचारीहरुको रोजगारी नखोस्न, हुलाकको संरचना खारेज होइन यसको सेवाको पुनःसंरचना गर्न र राजीनामा दिइ सेवाबाट नियमित रुपमा अवकाश भएका वा हुने कर्मचारीहरुको सेवा अवधि तथा सेवा सुविधा सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ ।
उनीहरुले अतिरिक्त हुलाक कार्यालयले प्रदान गर्ने सबै सेवा बन्द गरेर विरोध गरेका थिए ।
अतिरिक्त हुलाक, इलाका हुलाक तथा जिल्ला हुलाक कार्यालयहरुमा माग पूरा नभएसम्म प्रदर्शनका साथै कामकाज ठप्प पारी तालाबन्दी गर्ने र यो चरणको आन्दोलन सकिादासम्म पनि सरकारले माग पूरा नगरेमा यसपछि हुलाक सेवा विभागमा धर्नाका कार्यक्रम राखिने नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन धनुषाको बिरोध कार्यक्रमका संयोजक जिल्ला अध्यक्ष प्रदीप कुमार यादवले चेतावनी दिए ।
धनुषामा ७५ वटा अतिरिक्त हुलाक कार्यालय छन् भने यसमा १ सय ७५ जना कर्मचारी कार्यरत छन् ।