मटिहानी (महोत्तरी) : भदौरे तरकारी लगाउने बेलामा महोत्तरीको मटिहानी नगरपालिकाका किसानले सहयोगी सामग्री पाएका छन् ।

तरकारी बालीको नयाँ पकेट कार्यक्रमअन्तर्गत मटिहानी-६ का ४० जना किसानले नगर कार्यपालिकाको कार्यालयको कृषि शाखाबाट कृषि सामग्री पाएका हुन् । किसानलाई सिंचाइ प्रयोजनका लागि मोटर, डेलिभरी पाइप, औषधी छर्कने स्प्रे टङ्की, गटोर स्प्रे, कोदालो, जैविक मल र भदौरे तरकारीको बीउसहितका सामग्री नगर प्रमुख हरिप्रसाद मण्डलले सोमबार वितरण गर्नुभयो ।

मटिहानी-५ तरकारी उत्पादनमा जिल्लाकै पकेटक्षेत्रका रुपमा मानिदै आइएको छ । यहाँ करिब २० हेक्टर क्षेत्रफलमा ४० परिवार किसानले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका कृषि शाखा प्रमुख टङ्कप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

मटिहानी-६ मा बर्सेनि न्युनतम एक करोड मूल्यको तरकारी बिक्री हुँदै आएको कृषि शाखाले जनाएको छ । तरकारी खेतीमा लागेका किसानले खेतीका लागि आधारभूत कृषि सामग्री (बीउ, मल र कृषि ज्यावल/उपकरण) पाएपछि राहत महसुस गरेका छन् ।

यसअघि दुई दिन पहिले नगर कार्यपालिकाको कृषि शाखाले मखान खेतीका १०० किसानलाई मखानको बजारीकरणमा सहयोग पुग्ने सामग्री वितरण गरेको थियो । नगरपालिकाबाट पाएको सहयोगले खेतीमा लाग्न थप हौसला मिलेको स्थानीय किसान मुसाफिर सहनीको भनाइ छ ।

मखान र तरकारीबालीका अतिरिक्त अन्नबालीका किसानलाई पनि यसअघि उन्नत बीउ, जैविक मल र कृषि ज्यावल वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

२०८० असार १९, मंगलवार १०:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय