
बर्दिबास : मैथिली भाषाका दुई कृति विमोचित भएका छन् ।
बर्दिबास-४ माईस्थानमा आयोजित मधेश प्रदेशको इतिहास लेखनसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीकै बीच मैथिली भाषा साहित्यका साधक रामभरोस कापडी ’भ्रमर’ बारे लेखिएका दुई मैथिली कृति पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले विमोचन गर्नुभएको हो । विमोचित कृतिमा प्रोमिशा मिश्रा लिखित तथा प्रसिद्ध मैथिली भाषा विज्ञ चन्द्रेश सम्पादित ‘रामभरोस कापडी भ्रमरः व्यक्तित्व एबं कृतित्व’ र मैथिली भाषा/ साहित्य साधक डा. महेन्द्रनारायण राम सम्पादित ‘पतियाक आखरमे गुँजैत भ्रमर’ हुन् । शुक्रबार सुरु भएर आज शनिबार सम्पन्न भएको दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीमै मैथिली साहित्यले दुई कृति पाएको छ ।
विमोचित कृतिमध्ये ‘रामभरोस कापडी भ्रमरः व्यक्तित्व एबं कृतित्व’मा प्राज्ञ भ्रमरको जीवनी , साहित्यिक यात्रा र योगदानका विषय समेटिएका छन् । त्यसैगरी ‘पतियाक आखरमे गुँजैत भ्रमर’ कृतिमा विश्वभरि छरिएर पनि मैथिली भाषा/ साहित्यको विकासमा योगदान दिदै आउनु भएका मैथिली भाषाका साहित्यकारहरुले भ्रमरलाई पठाउनु भएका पत्र सामेल छन् ।
राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रहीसक्नु भएका हाल मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष भ्रमरबारे दुबै विमोचित कृतिले विस्तारमा परिचय दिएका कृति हेर्नु भएकी पूनम झा मैथिलले बताउनुभयो । दुबै कृति प्रकाशन भने भारतको बिहार प्रान्तको मधुवनी र सुपौलमा भएको हो । विमोचित दुबै कृतिले मैथिली साहित्यको श्रीवृद्धिमा महत्वपूणर् योगदान दिने प्रसिद्ध नाटककार एबं सिने कलाकार रमेशरञ्जन झाको प्रतिकृया छ ।