बर्दिबास : नागरिकस्तरबाट निर्माण थालिएको बर्दिबास-१ रातु नदी तटस्थित रातु ठाकुर मोक्षधाम सञ्चालनमा आएको छ । हिन्दू वैदिक परम्परामा मृतकको अन्तेष्टी गरिने यो स्थल आज शनिबार रुद्राभिषेक पाठ र विशेष हवनका विधि सम्पन्न गरिदै सञ्चालनमा ल्याइएको हो ।

रातु नदी तटको उकास जग्गा र समन्तीप्रसाद पोखरेलबाट दानस्वरुप प्राप्त ०-०७-१० (सात कठ्ठा १० धुर) जग्गामा निर्मित मोक्षधाममा पाँच शवदाह स्थल बनेका छन् । मोक्षधाम परिसरभित्र डा. कृष्ण हमालले ४० लाखको लागतमा निर्माण गर्नुभएको मोक्षेश्वर महादेव मन्दिर र शिवलिङ्गको पनि आजै प्राणप्रतिष्ठा भई नियमित पूजाअर्चना प्रारम्भ भएको छ ।

परिसरभित्र होटल व्यवसायी नरहरि गौतमले दुई कोठे कार्यालय भवन, बर्दिबास नेवा समाजले ८५ फिट लम्बाईको प्रतिक्षालय, नारायणप्रसाद अधिकारीले दाउरा भण्डारण कक्ष, रामनारायण महतोले मलामी प्रतिक्षालय र जानकी सेनले पक्की चौतारा निर्माण गरिदिनुभएको मोक्षधाम निर्माण समितिका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिनुभयो । मोक्षेश्वर महादेव मन्दिरसहितका सबै निर्मित संरचनाको आज बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले उद्घाटन गर्नुभएको हो ।

पूर्वपश्चिम राजमार्गको रातु पुल पश्चिम छेउबाट मोक्षधाम परिसरसम्म पुग्ने सडक, एक लाख ५० हजार लिटर पानी भण्डारण क्षमताको टङ्की निर्माणमा बर्दिबास नगरपालिकाको सहयोग प्राप्त भएको निर्माण समितिले जनाएको छ । यसैगरी मोक्षधाम परिसर प्रवेशस्थलमा नेपाली सेनाका पूर्वरथि ईश्वर हमालले १५ लाखको लागतमा आकर्षक प्रवेशद्वार निर्माण गर्नुभएको छ । परिसरभित्र निर्मित सबै संरचनाका सहयोगी बर्दिबासबासी रहनुभएका समितिका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

मोक्षधामभित्र खानेपानीका धारा बर्दिबास साना सहरी खानेपानी तथा सरसफाई संस्थाले जडान गरिदिएको छ । मोक्षधाम परिसरका थप संरचना निर्माणमा बिभिन्न दाताबाट प्राप्त करिब १६ लाख रकम खर्च भएको उद्घाटन कार्यक्रममा जानकारी दिइएको छ ।

जन्म र मृत्यु जीवनको सत्यलाई आत्मसाथ गरी जीवनको अन्तिम संस्कार सुव्यवस्थित रुपले हुन सकोस् भनेर मोक्षधाम निर्माणको कल्पना गरिएको निर्माण समितिका अध्यक्ष देवकोटाको भनाइ छ । मोक्षधाम परिसर प्रवेश गर्ने जोसुकैले एक पवित्रस्थलमा पुगेको अनुभूति लिन सकुन् भन्ने ध्येयका साथ काम गरिएको उहाँले बताउनुभयो । “मैले हात फैलाएँ, सबैले खुला हृदयले सहयोग गर्नुभयो” देवकोटाले भन्नुभयो, “यो विश्वासका लागि सबैप्रति नमन गर्दछु ।”

परिसरभित्र निर्मित सबै संरचनाको कूल लागत करिब दुई करोड ५० लाखको हाराहारीमा रहेको निर्माण समितिले जनाएको छ । मोक्षधाम बर्दिबास नगरपालिका र धनुषाको मिथिला नगरपालिका क्षेत्रका वैदिक हिन्दू परम्पराका अनुयायीको अन्तिम विश्रामस्थल (अन्तेष्टिस्थल) रहँदै आएकोे छ ।

२०८० असार ३१, आईतवार २०:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय