
महोत्तरी : अहिले मधेशका प्राचीन मिथिलाक्षेत्रका प्रत्येकजसो गाउँ/नगर बस्तीमा साउने बजार जम्दो देखिदो छ । शृङ्गार प्रसाधन र कपडा पसलमा मिथिलानी (मिथिलाका नारी) खासगरी हरिया चुरा र यसै रङ्गका लगाउने लुगा छानीरहेका देखिन्छन् । स्थायी पसल र हटियाबाहेक अहिले यस्ता सामग्रीको ब्यापार गर्ने ब्यापारी बस्तीबस्तीका घरघरैजसो ‘ल, हरिया चुरा, सारी, चोला , कुर्ता लिनुहोस्’ भन्दै डुलीरहेका भेटिन्छन् ।
मानव उपयोगी बस्तुहरुले पनि बेलाअनुसार खास महत्व पाउँछन् । अहिले साउन मास (महिना) मा महिलाले लगाउने वस्त्रपरिधान (लुगा) र शृङ्गारमा धार्मिक विश्वास र स्थापित परम्पराले हरियो रङ्गले यस्तै खास महत्व पाएको हो ॥
प्रत्येक वर्षको साउन महिना मैथिल हिन्दू परम्पराका नारीका लागि हरियो रङ्ग खास शृङ्गार र वस्त्रपरिधानमा रोजाइको विशेष महत्व हुन्छ । मैथिल हिन्दू परम्परामा साउन भगवान शिवको प्रिय महिना मानिने विश्वासले मिथिलानी (मिथिलाका नारी) का लागि यो महिना शृङ्गार र वस्त्रपरिधान रोजाइमा हरियो रङ्ग विशेष बनेको हो । यसपालि चन्द्रमास गणनाले गत असार १९ गते नै र सौरमास गणनाले गत सोमबार साउन सुरु भएको छ । यसपालि सौरमासको साउनभरि अधिकमास रहेको हुँदा चन्द्रमासअनुसार भदौ १४ सम्मै साउन रहने छ । साउने व्रत सौैरमास र चन्द्रमास दुबैको गणनाभित्र गरिन्छ । त्यसैले यसपालि हरियो रङ्गका शृङ्गार प्रसाधन र लुगाको ब्यापार अवधि पनि बढ्ने भएको छ ।
साउनमै पनि सोमबारको त अझ विशिष्ट महत्व छ । साउने सोमबारका दिन भगवान शिवलाई पुकारा गरी पूजाआराधना गरेर व्रत बसे इच्छित कामना पुरा हुने हिन्दू मैथिल जनविश्वास छ । साउनमा सोमबार परेको दिन शिवालय जानेहरुले आमरुपमा गेरु वस्त्र धारण गरेपनि दैनिक जीवनमा मिथिलानीभने हरिया रङ्गका चुरा र सारी-चोलोमा सजिसाउ भेटिन्छन् । मिथिलानीको यो परिधानभित्र हरियो चुरा र हरियै सारीको छनौट हुनुले महोत्तरीसहितका मिथिला क्षेत्रमा जताततै बस्ती/बस्तीमा साउनविशेषको हरियो चुराको बजार जमेको देखिन्छ । यसपालि सौरमास गणनाले पाँच र चन्द्रमासभित्रका तीन गरी आठवटा साउने सोमबारी परेका छन् ।
हरियो चुरा , टिका, धागा/रिबन, लगाउने सारी, चोला, कुर्तासहितका परिधान अक्षुण्ण (अटल) सौभाग्यका प्रतीक मानिने हुँदा साउनभरि महिलाको छनौटमा पर्ने गरेका छन् । साउन शिवभक्तिको महिमाले मात्र नभई प्रेमको प्रगाढताको महिना पनि मानिन्छ । हरियो वस्त्र र चुरासहितको प्रसाधनमा सजिएर भगवान शिवको गरिने आराधना र व्रतले अटल सौभाग्य प्राप्त हुने जनविश्वास रहेको मिथिलानी (मिथिलाका नारी) बताउँछन् ।
“साउन महिना प्रकृति पूजाका लागि विशिष्ट मानिन्छ, हरियो रङ्ग प्रकृतिको प्रतीक मानिन्छ” महोत्तरीको बर्दिबास-९ पशुपतिनगरकी श्यामकला कुशवाहा भन्नुहुन्छ, “हाम्रा तीर्थ व्रत र चाडवाड धेरैजसो प्रकृतिसम्वद्ध छन् , त्यसैले साउनमा हरियो सारी र चुराले महत्व पाएको हो ।”
विवाहिता मिथिलानी अटल सौभाग्य र अविवाहित युवती सुन्दर वर (दुलाहा) को कामनाले साउने सोमबारी व्रत बस्छन् । नवविवाहिता मिथिलानी त साउनमै पतिपत्नीबीच पिरती गाढा हुने विश्वास गर्छन् । यसै परम्पराको मधुश्रावणी पर्व पनि अहिले समापन हुन बाँकी छ । अधिकमास प्रारम्भले रोकिएको मधुश्रावणीपर्व अब साउन शुक्लपक्ष लागेपछि समापन हुनेछ । भगवान शिवको आराधना होस् कि अन्य धार्मिक अवसर ! साउनभरि सौभाग्य प्रसाधनको चयनमा हरियो चुरा मिथिलानीको प्राथमिकतामै पर्छ । साउने यो पर्वका अवसरमा हरियो चुरा र सारीमात्र नभएर हरियो पोते र अन्य शृङ्गार प्रसाधनका पसल साउन लागीकन जताततै सजिएका छन् ।
मिथिलानी अहिले लामो कारागार बसाइबाट छुटेजस्तै भएका छन् । सधैं घरगृहस्थीमा रुमलिने मिथिलानी साउन लागेपछि सहेलीहरुको झुण्डमा मन फुकाएर हाँस्दै हाटबजार र शिवालयमा देखिन्छन् । यस्तो जमघटमा आफ्ना वस्त्र परिधान विशिष्ट देखिउन् भन्ने अन्तरनिहित चाहना हुने गरेको भङ्गाहा-४ रामनगरकी कञ्चनीया विन बताउनुहुन्छ ।
साउन महिनाले अहिले परिवेश नै हरियो बनाएको देखिदो छ । हाट बजारमा यतिखेर जताततै हरिया शृङ्गार साधनका पसल सजिएका छन् । यस्ता शृङ्गार प्रसाधनका पसलमा युवा उमेरका मिथिलानीको उपस्थिति सघन देखिन्छ । अहिले महिलाले हरियो रङ्गका जरी भरेको चुरा, हरिया बुट्टेचुरा बढी खोज्ने गरेका भङ्गाहा-५ सीतापुर बजारका ममता शृङ्गार भण्डारका सञ्चालक रामभगत साह बताउनुहुन्छ । चुरासँगै अहिले मेहन्दीको ब्यापार पनि फस्टाएको छ । साउनमा हरियो चुराजस्तै हातको हत्केला, नाडी र नङ्मा मेहन्दी लगाउने मैथिल महिलाको स्थापित चलन छ । साउनमा हत्केला, नङ्, औंला र नाडीसम्म कलात्मक ढङ्गले लगाइने मेहन्दीले पतिपत्नीबीच प्रेममा प्रगाढता हुने र सर्पको भय नहुने विश्वास गरिन्छ ।
हरियो रङ्गलाई समृद्धिको प्रतीक पनि मानिन्छ । साउने सोमबारी पर्वका बर्तालु विवाहित मिथिलानीले पतिको सुस्वास्थ्य , आपसी प्रेमको प्रगाढता र एकापसमा समर्पण भावको कामना गर्दै हरियो चुरा, पोते, हरियो लुगा र हत्केलामा मेहन्दी लगाउने प्रचलन छ । त्यसैगरी अविवाहित नवयौवना मिथिलानी सुन्दर वर (दुलहा) को कामना गर्दै साउने व्रत बस्छन् । साउनमा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साडी एकले अर्कालाई उपहार दिने चलन पनि बाक्लै भएको हुँदा यो महिनामा यस्ता सामानको बजार निकै जम्ने गरेका छन् ।