महोत्तरी : उपराष्ट्रपति रामसहाय प्रसाद यादवको महोत्तरीमा नागरिक अभिनन्दन हुने भएको छ । मटिहानी नगरपालिका-७ तस्मैयाबाबा उद्यानमा जडान गरिएको ११० फिट अग्लो राष्ट्रिय झण्डा फहराउने कार्यक्रमका लागि आउन लाग्नु भएका उपराष्ट्रपति यादवको भोलि मङ्गलबार नागरिक अभिनन्दन गरिने मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभएको हो ।

मटिहानी नगर कार्यपालिकाको कार्यालयको निमन्त्रणामा आउन लाग्नुभएका यादवले भोलि मङ्गलबार बिहान ११० फिट अग्लो राष्ट्रिय झण्डा फहराउनु हुनेछ । सोही समारोहमा उहाँको नागरिक अभिनन्दन गरिने समारोह समितिका अध्यक्षसमेत रहनु भएका नगरप्रमुख मण्डलले बताउनुभयो ।

मटिहानी भ्रमणक्रममा उपराष्ट्रपति यादवले पौराणिक एवं धार्मिक महत्वको लक्ष्मीनारायण मन्दिरमा पुजापाठ , सन्त तस्मैया बाबाको समाधीस्थलमा पुष्पगुच्छा अर्पण तथा लक्ष्मीसागर तलाउमा भगवान लक्ष्मीनारायणको महाआरती गर्नुहुने कार्यक्रम छ । यसैगरी उपराष्ट्रपति यादवले मुलुककै जेठो ३०५ वर्ष पहिले स्थापित गुरुकूल (हालको राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानी), महामुनि याज्ञवल्क्य र भगवान लक्ष्मीनारायणका नाउँमा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (स्नातकोत्तर तहसम्म अध्ययन अध्यापन हुने संस्कृत क्याम्पस) र लक्ष्मीनारायण मठको अवलोकन गर्ने कार्यक्रम रहेको मटिहानी नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

यसक्रममा उपराष्ट्रपति यादवले पीरबाबा मजारको दर्शन र मटिहानीस्थित रङ्गशालाको अवलोकन गर्नुहुने जनाइएको छ । हिन्दू सनातन परम्पराका महासन्त तस्मैयाबाबा र इस्लाम परम्पराका सुफी सन्त पीरबाबा १६ औं सताब्दीमा आधुनिक मटिहानीको जग बसाउने व्यक्तित्व मानिनुहुन्छ । त्यसैगरी लक्ष्मीसागर अघि त्रेता युगमा रामसीताको विवाहमा यज्ञवेदी बनाउन माटो खनिएको पवित्रस्थल मानिन्छ । मटिहानी-७ स्थित लक्ष्मीनारायण मठ मुलुकभरिकै वैष्णव मठहरुको नायक मठ रहँदै आएको छ । यसैगरी मटिहानी नगरपालिकाले निर्माण गरेको रङ्गशाला २०७८ मङ्सिर ६ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाट्न गर्नुभएको हो ।

Praveshdwar-Matihani

२०८० श्रावण १५, सोमबार ०९:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय