महोत्तरी : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकमै अग्लो मानिएको ११० फिट उचाइको राष्ट्रिय झण्डा फहराउनु भएको छ ।

महोत्तरीको मटिहानी नगरपालिका-७ तस्मैयाबाबा उद्यान परिसरमा जडान गरिएको ११० फिट अग्लो राष्ट्रिय झण्डा उपराष्ट्रपति यादवले एक समारोहबीच आज मङ्गलबार फहराउनु भएको हो । यो झण्डा मुलुककै सबैभन्दा उचो भएको दाबी गरिएको छ ।

मुलुककै प्रसिद्ध लक्ष्मीनारायण मठ अगाडि निर्मित तस्मैयाबाबा उद्यान परिसरभित्र यो झण्डा विशेष मञ्चमाथि जडान गरिएको छ । राष्ट्रिय झण्डा फहराउनअघि उपराष्ट्रपति यादवले झण्डा उभ्याइएको खम्बाछेउमै शिलालेख गर्नुभयो ।

मटिहानी नगरपालिकाले निर्माण गरेको विशेष मञ्चमा जडित यो राष्ट्रिय झण्डा फहराउने (उद्घाटन गर्ने) कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रदेश मन्त्रीपरिषदका सदस्यहरु, मधेश प्रदेशसभा सदस्यहरु , प्रशासनिक तथा सुरक्षा निकायका अधिकारीहरुको उपस्थिति रहेको थियो । समारोह मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो ।

मुलुककै उचो भनिएको यो राष्ट्रिय झण्डा जडान तस्मैयाबाबा उद्यान निर्माण योजनाकै अङ्ग रहेको मटिहानी नगर कार्यपालिकाको कार्यालयका प्राविधिक शाखाका प्रमुख इञ्जिनियर विमलेश साहले बताउनुभएको छ । कूल पाँच करोड लागत इष्टिमेटको उद्यान निर्माणमा हालसम्म एक करोड १० लाख खर्च भएको र त्यसमध्ये राष्ट्रिय झण्डा जडानमा १२ लाख ५० हजार खर्च भएको प्राविधिक शाखाले जनाएको छ ।

२०८० श्रावण १६, मंगलवार १९:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय