
महोत्तरी : दुर्घटनामा परी खुट्टा गुमाएर कुँजिएर बस्नु परिरहेका व्यक्तिले कृत्रिम खुट्टा लगाएर हिंडडूल गर्न पाउने भएका छन् ।
रोटरी क्लव अफ बर्दिबासले कृत्रिम खुट्टा लगाइने निःशुल्क शिबिर आयोजन गरेर यो अवसर दिन लागेको हो । रोटरी क्लव अफ बर्दिबासले आज बुधबार पत्रकार सम्मेलन नै आयोजना गरेर शिबिर सञ्चालनबारे अवगत गराएको हो ।
“हामीले रोटरी क्लव अफ जयपुर (भारत) का दक्ष प्राविधिकले निर्माण गरेका कृतिम खुट्टा रोटरी क्लव अफ वीरगञ्ज र नयाँ कदम संस्थाको समन्वयमा शिबिर सञ्चालन गर्ने निधो गरेका छौं” रोटरी क्लव अफ बर्दिबासका अध्यक्ष कृष्णप्रसाद गौतमले भन्नुभयो, “अहिले यही २०८० भदौ १६ देखि २५ सम्म १० दिनको शिबिर तय गरेका छौं ।” बर्दिबास-१ सिन्धुलीरोडस्थित बर्दिबास सेवा समिति भवनमा सञ्चालन गरिने यो शिबिर पूणर् निःशुल्क हुने रोटरी क्लव अफ बर्दिबासले स्पष्ट पारेको छ ।
यो अभियानसँगै जोडेर सकारात्मक सन्देस प्रवाह गर्ने उद्देश्यले २०८० भदौ १० गते आइतबार बर्दिबासस्थित गौतम होटलमा नेपालका ख्यातिप्राप्त कलाकारहरुको संस्था ‘सिस्नोपानी’ ले मनोरञ्जनात्मक प्रस्तुति दिने कार्यक्रम पनि तय गरिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । सुप्रसिद्ध हास्य कलाकार मनोज गजुरेलसहितका कलाकारले कृत्रिम खुट्टा लगाइने शिबिरका लागि सन्देसमूलक प्रस्तुति पस्कने जनाइएको छ ।
“तपाईंहरु पत्रकार साथीले शिबिरबारे सन्देस प्रवाह गरीदिनोस् , शिबिरबाट अधिकाधिक लाभान्वित हुन सकुन्” पत्रकार सम्मेलनमा रोटरी क्लव अफ बर्दिबासका पूर्वअध्यक्ष शम्भु भट्टराईले भन्नुभयो । रोटरी क्लव अफ बर्दिबासले शिबिर सञ्चालन हुनु करिब एक महिना पहिले नै पत्रकार सम्मेलन गरेर यो सन्देस व्यापक फैलियोस् र बढीभन्दा बढीले सेवा पाउन् भन्ने उद्देश्य बोकेको भट्टराईको भनाइ छ ।
शिबिरमा नेपाल, भारत वा संसारका जुनसुकै देशका नागरिकले सेवा पाउने रोटरी क्लव अफ बर्दिबासले स्पष्ट पारेको छ । शिबिरमा कृत्रिम खुट्टा लगाउन चाहने वा यसबारे थप जानकारी लिन चाहनेले पूर्वअध्यक्ष शम्भु भट्टराईको ९८५४०२००५४ अर्का पूर्वअध्यक्ष हिरा गौतमको ९८४१७२२६४४ र वर्तमान अध्यक्ष कृष्णप्रसाद गौतमको ९८०७८३६७१५ नम्बरको मोवाइलमा सम्पर्क गर्नसमेत् रोटरी क्लव अफ बर्दिबासले अनुरोध गरेको छ ।