महोत्तरी : महोत्तरीमा चार दशकको अवधिमा जनसङ्ख्या करिब दोब्बर भएको छ । विक्रम सम्वत् २०३८ र पछिल्लो २०७८ को राष्ट्रिय जनगणना तथ्याङ्कले यस बीचको अवधिमा जनसङ्ख्या झण्डै दोब्बर देखिएको हो ।

विक्रम सम्वत् २०३८ सालमा जिल्लाको जनसङ्ख्या तीन लाख ६१ हजार ५४ थियो । अहिले पछिल्लो २०७८ को राष्ट्रिय जनगणनामा जिल्लाको जनसङ्ख्या सात लाख छ हजार ९९४ पुगेको तथ्याङ्क कार्यालय महोत्तरी जलेश्वरले जनाएको हो । यो सङ्ख्या २०३८ को दोब्बर हुन मात्र १५ हजार १४ ले कम छ । पछिल्लो जनसङ्ख्यामा महिला तीन लाख ५७ हजार ८३५ (५०.६७%) र पुरुष तीन लाख ४९ हजार १५९ (४९.४०%) रहेका राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली, काठमाण्डौंको प्रामाणिक अभिलेखलाई उद्धृत गर्दै कार्यालय प्रमुख श्याम साहले बताउनुभयो ।

जिल्लामा सबैभन्दा बढी जनसङ्ख्या भएका जाति समुदायमा क्रमशः यादव, मुस्लिम, धानुक, कोइरी, तेली, मुसहर , चमार, खत्वे र पासवान रहेका छन् । सार्वजनिक तथ्याङ्कअनुसार यादव एक लाख १० हजार ७२९ (१५.६६%), मुस्लिम एक लाख सात हजार ३७३ (१४.६९%) , धानुक ४५ हजार २५१ (६.४%), कोइरी ४० हजार ३८१ (५.७१%) , तेली २९ हजार ९५३ (५.७१%) र मुसहर २७ हजार ३५२ (३.८७%) छन् । यसैगरी कम जनसङ्ख्या रहेका जाति समुदायमा सबैभन्दा कम सिख दुई जनामात्र छन् । यसैगरी बेलदार ११ ,कुशबरिया १४, राना थारु १६, कमर र आठपहरिया १८/१८, लिम्बु २०, जैन २६, राजबंशी २८, हायु ४१ र शेर्पा ५१ जनामात्र छन् ।

यिनमा हिन्दू धर्म मान्ने सबैभन्दा बढी पाँच लाख ८४ हजार ५१३ (८२.६७%) छन् । यसैगरी इस्लाम धर्म मान्ने एक लाख नौ हजार ९१४ (१५.५४%), बौद्ध परम्परामा १० हजार ९५३ (१.५५%) , इसाई एक हजार १३७ (०.१६%), प्रकृति २३० जना (०.०३%) , किरात २१९ जना (०.०३%) , जैन २६ जना (०.००३%) र सिख दुई जनामात्र अर्थात् (०.०००३%) रहेका राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली, काठमाण्डौंको राष्ट्रिय जनगणना-२०७८ नतिजा पुस्तिकामा उल्लेख छ ।

जिल्लामा जम्मा एक लाख ४० हजार ७३० घर छन् । जसमा ७९% आबास, ७.०७% गोठ, धन्सर , मतान, ब्यापार प्रयोजनका ३.०१% रहेका छन् । जिल्लाको कूल साक्षरता प्रतिशत ५९.८ रहेको छ । जसभित्र पुरुष साक्षरता ६८.४ र महिला ५१.५ प्रतिशत रहेका छन् ।

जिल्लाको पछिल्लो दशकको जनसङ्ख्या वृद्धिदर १.१४ प्रतिशत र लैङ्गिक अनुपात ९७.५८ प्रतिशत रहेको प्रकाशित तथ्याङ्कमा उल्लेख छ ।

२०८० भाद्र ७, बिहीबार ०८:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय