काठमाडौं, भदौ २६ : नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएको छ । राति १ बजेतिर अचानक हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पतालस्रोतले दिएको जानकारीअनुसार राति १ बजेर २० मिनेटमा उनलाई अस्पताल लगिएको थियो ।

उनको बिहान सवा ४ बजे नेम्वाङको निधन भएको थियो । राति बाथरुम जाने क्रममा उनी एक्कासी ढलेको परिवारका सदस्यको भनाई रहेको छ । परिवारका सदस्यले तत्कालै अस्पताल पुर्‍याएको भए पनि बाटोमै उनको निधन भएको बताइएको छ ।

नेम्वाङ विसं २०२८ बाट राजनीतिमा सक्रिय थिए ।

स्नातक अध्ययनका क्रममा विसं २०२८ र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गर्नुभएका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका थिए ।

विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र९माले०मा सङ्गठित एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।

नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष र सभामुख रहेका थिए ।

उनले विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गर्नुभएका स्वं नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए ।

२०८० भाद्र २६, मंगलवार ०८:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय