महोत्तरी : गत स्थानीयतह निर्वाचन (२०७९) मा पार्टी निणर्यविरुद्ध लाग्दा कार्वाहीमा परेका महोत्तरीको बर्दिबास नगरका नेपाली काँग्रेसका नेता कार्यकर्ता अब विधिवत पार्टी काममा फर्केका छन् ।

पार्टी केन्द्रीय कार्यालयको अनुशासन समितिले त्यतिबेला गरिएको कार्वाही सबै फुकुवा गरी पूर्ववत (कार्वाही हुनपूर्व) जिम्मेवारीमा फर्कन निर्देशन गरेपछि यहाँका नेका कार्यकर्ता पार्टी एक ढिक्का भएको भन्दै उत्साहित भएका हुन् । पार्टी निणर्यविरुद्ध त्यतिखेर स्वतन्त्र उमेद्वारी दिने, उमेद्वारको प्रस्तावक, समर्थक हुने र तिनको खुला समर्थन गर्नेसहित २६ जना पार्टी कार्वाहीमा परेका थिए ।

पार्टी कार्वाहीमा पर्नेमा स्वतन्त्र उमेद्वारी दिएर जितेका नगरप्रमुख प्रल्हाद क्षत्री, उपप्रमुख तारादेवी महतो , महासमिति सदस्यहरु, पार्टीका नगर सभापति युवराज पोखरेल, सचिब विनोद ढुङ्गेलसहित २६ जना हुनुहुन्थ्यो । अहिले आपूmहरुको पार्टी काममा फर्कने अनुरोधपत्रलाई स्वीकार गरी केन्द्रीय अनुशासन समितिले सबैलाई पूर्ववत जिम्मेवारीका काममा फर्कन निर्देशन गरेपछि विधिवत पार्टी काममा लागिएको नगर सभापति पोखरेलको भनाइ छ ।

“निर्वाचन (स्थानीय निर्वाचन) का बेला एकप्रकारले विद्रोहको स्थिति बन्यो, तर पछि कार्वाहीमा परेका हामी सबैले पार्टी निणर्यको अवज्ञाबारे आत्मआलोचित हुँदै पार्टी काममा फर्कने निवेदन गर्‍यौ” सभापति पोखरेलले भन्नुभयो, “अहिले पार्टीको केन्द्रीय अनुशासन समितिले पूर्ववत काममा फर्कने गरी कार्वाही फुकुवा गरेको पत्र दियो, अब हामी काममा लाग्यौ ।” केन्द्रीय अनुशासन समितिले गत बुधबार (१० असोज) को मितिमा लेखेको कार्वाही फुकुवाको पत्र पाएपछि अब पहिलेका सबै आग्रहपूर्वाग्रह त्यागेर पार्टी एकजुट बनेको भर्खरै कार्वाही फुकुवा गरिएका सचिब ढुङ्गेल बताउनुहुन्छ ।

विक्रम सम्वत् २०७९ सालको स्थानीयतह निर्वाचनमा उमेद्वारीका कुरामा आपसी असहमती बढेपछि पार्टी उमेद्वारविरुद्ध स्वतन्त्र उमेद्वारी दिएका र तिनको समर्थन गरेका हरुले त्यसयता स्वतन्त्र समूह खडागरी राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका थिए । गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि यिनीहरुले स्वतन्त्र समूहकै नाउँमा उमेद्वारी दिएर प्रतिष्पर्धा गरेका थिए । यद्यपि सो निर्वाचनमा भने यो समूहलाई जितको सफलता प्राप्त भएन ।

अहिले कार्वाही गरिएका सबै पार्टी काममा फर्किएपछि यी कार्यकर्ता पुरानो आफ्नो घर स्याहार्न लागिएको बताउँछन् । यसैगरी दलको मूलधारमा रहँदै आएका नेता कार्यकर्ताले पनि पुराना साथीको पुनरागमनलाई सहृदयतापूर्वक लिइएको स्थानीय काँग्रेस नेता भरत हमाल बताउनुहुन्छ ।

२०८० आश्विन १६, मंगलवार १०:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय