महोत्तरी । भन्सार छलेर सिन्धुलीहुँदै काठमाण्डौ लादै गरेको २५ लाख बढीको सामान प्रहरीले बरामदपछि महोत्तरीमा सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बुधबार साँझ भन्सार छलेर महोत्तरी कटाउनै लागेका बेला बरामद गरिएका २५ लाख २७ हजार ३०० मूल्य बराबरका ट्रकसहित बरामद सामान बुधबार सार्वजनिक गर्दै जलेश्वर भन्सार कार्यालय मलिबारा (महोत्तरी) लाई बुझाएको हो ।

बुधबार बिहान झिसमिसेमै जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको विशेष सुराकी टोलीले जिल्लाको बर्दिबास-३ कालापानीमा काठमाण्डौंतर्फ जाँदैगरेको ना ८ ख ३१९७ नम्बरको मिनीट्रक जाँच गर्दा काजु, जिरा, चामल, चिउरा, भुजा (मुरी) र चकलेटसहितका भन्सार छलीका सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिनुभयो । बरामद सामग्रीमा काजु १०० डिब्बा, जिरा ३०० किलो, चामल १८ बोरा, भुजा ४१ बोेरा, चिउरा छ बोरा र २०० कार्टुन चकलेट रहेका प्रहरीले जनाएको हो ।

सिरहाबाट भन्सार छलेर काठमाण्डौतर्फ सामान लगिदै गरिएको सुराक पाएपछि टोली परिचालित गरी सिन्धुली जिल्ला छिर्नै लागेको ट्रक रोकेर जाँच गरिदा यी सामान बरामद गरिएको प्रनाउ गिरीले बताउनुभयो । बरामद सामग्री, ट्रक र चालक सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-६ बस्ने ३३ वर्षीय गङ्गाबहादुर दर्जीसमेतलाई बुधबार साँझै आवश्यक कार्वाहीका लागि जलेश्वर भन्सार कार्यालय मलिबारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।

अन्यबेलाभन्दा मुख्य चाडवाडका बेला अझबढी भारतीय बजारबाट भन्सार छल्दै सामान भित्रिने गरेको छ । पछिल्ला समयमा नेपाल भारत सीमा नाकासँगै प्रत्येकजसो बजारक्षेत्रमा यसको कडा निगरानी थालिएको प्रनाउ गिरी बताउनुहुन्छ ।

२०८० कार्तिक १६, बिहीबार ०८:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय