महोत्तरी । लोकआस्थाको महापर्व छठ यसपालि महोत्तरीका कैयौं बस्तीमा सर्वसाधारण बर्तालुले घरआँगनमै ‘नावर’ं (गाईबस्तुलाई पानी र खाना ख्वाउन बनाइएको सिमेण्टको एकप्रकारको भाँडा) मा पानी भरेर व्रत सम्पन्न गरेका छन् । बस्ती नजिकका पोखरी/तलाउ , नदी र खोल्साखोल्सीमा पानी मरेपछि घरआँगनमै ‘नावर’ं मा पानी भरेर व्रत विधि सम्पन्न गर्नु परेको हो ।

“के गरौं ? नजिकका पोखरी र पानीका डबरा यसपालि छठअघि नै सुके, नजिकको रातु नदीमा पनि पानी छैन, त्यसैले घरमै नावरमा पानी भरेर त्यसैमा चोवलिएर स्नान र अघ्र्य विधि सम्पन्न गर्‍यौ” बर्दिबास -२ की श्यामा चौधरीले भन्नुभयो । चौधरीमात्र नभएर बर्दिबास-२ का लच्का, ओमशान्तिचोक र बुद्धचोकका बर्तालुले पनि ‘नावर’ं मा पानीघाट बनाइ छठ पर्व विधि सम्पन्न गरेका छन् ।

“बितेका वर्षहरुमा सडकछेउको कुलोमा पानी चलाएर पुरै बस्तीका बर्तालुले सडक वारीपारी नै छठ घाट बनाउँथ्यौं, यसपालि रातु पहिल्यै सुकेपछि कुलो राम्रो चलेन, त्यसैले नावरमै पानीघाट बनाएर पर्व सम्पन्न गर्‍यौ” पछिल्ला १५ वर्षदेखि छठ व्रत गर्दै आएकी बर्दिबास-२ दर्लामीटोलकी पवी रेग्मीले भन्नुभयो, “खै अब त पर्व मनाउन पनि पानीको सङ्कट पर्दैगयो, अझै पछिपछि के के व्यहोर्नु पर्ने हो !”
बर्दिबास-१४ को बर्दिबास-औरही-जलेश्वर सडक वारीपारीका बासिन्दाले पनि छठ व्रतको अघ्र्य ‘नावर’ं मै पानीघाट बनाएर सम्पन्न गरेका छन् । यसैगरी बर्दिबासकै हाथीलेट, बिजलपुरा, पशुपतिनगर, मनहरिपुर, कृष्णपुर, किसाननगर, चौलिखा, फुलबारीटोल र प्रेमनगरसहितका घरघरैजसो छठ मनाउने बर्तालुलाई पर्वको पानीघाट ‘नावर’ं नै बनेको छ । बर्दिबासमात्र नभएर भङ्गाहा नगरपालिकाका रामनगर, प्रेमनगर, धतियाटोल, भूचक्रपुर र राजपुरसहितका बस्तीमा यसपालि व्रत विधानको पानीघाटका लागि ‘नावर’ं नै बनेको भङ्गाहा-४ रामनगरका सामाजिक कार्यकर्ता गङ्गाराम महतो बताउनुहुन्छ ।

बर्दिबास र भङ्गाहाजस्तै गौशाला नगरपालिका क्षेत्रका भरतपुर, बटुवा, लक्ष्मीनियाँ, इमलीबजार, कालीपुर र पडरियासहितका बस्तीमा सर्वसाधारण बर्तालुले घरआँगनकै इनार , धारा छेउमा पानी जम्मा गरेर व्रत सम्पन्न गरेका छन् । पानीका स्रोत नदी, पोखरी/तलाउ र खोल्साखोल्सीमा पानी सुकेर र जताततै फोहरको डङ्गुर थुप्रिदा घरआँगनमै पानीघाट बनाएर पर्व सम्पन्न गर्नु परेको व्रत सम्पन्न गरेका हरुको भनाइ छ ।

छठ पर्वमा जलाशयको ठूलो महत्व हुन्छ । पोखरी वा नदीमा दह झैं बनेको कम्मरसम्म डुब्ने पानीमा चोबलिएर सूर्यदेवलाई अघ्र्य दिने परम्परा चल्दै आएको हो । तर पछिल्ला केही वर्षयता नदीमा पानी चल्न छाडेको, पोखरी/तलाउ कतै सुकेका र कतै फोहर थुपारिएर दुर्गन्धित बनेपछि पर्व परम्परा थेग्न अब ‘नावर’ र इनार छेउमा बनाइएका खोबिल्टाको भर पर्नु परेको बर्तालुको भनाइ छ ।
प्रकृति पूजाको छठ परम्परा अब केही वर्षपछि घरघरका धारा वा स्नानघरमा पुग्ने चुरे तथा जलाधारविज्ञहरुको भनाइ छ । खासगरी मधेशको शिरमा रहेको चुरे पर्वत र यसका श्रेणिहरु एबम् नदीक्षेत्रमा बढ्दो अनियन्त्रित उत्खनन् र वनजङ्गलको विनासले पानीका स्रोतका मूहान सुक्दै जाँदा यो सङ्कट बढेको चुरे विज्ञ डा. विजयकुमार सिंहको भनाइ छ ।

“अब झनझन् पानीको सङ्कट बढ्ने देखिन्छ, चुरे पाहाडका थुम्काहरु, नदी , नदीउकास जग्गा र वनजङ्गल क्षेत्रमा बढेको अनियन्त्रित उत्खननले पानी रसाउने ठाउँ पुरिएका र सुख्खा भएका छन् , यो विनासले सन्तुलित वर्षा हुन छाडेको छ” चुरे विषयमै विद्यावारिधि गर्नुभएका डा. सिंह भन्नुहुन्छ, “यी सम्पदा (चुरे पाहाड, नदी, नदीउकास जग्गा र वनक्षेत्र) माथि हुने अनियन्त्रित दोहन नियन्त्रण नगरिए अब छठ मनाउनेमात्र हैन, घरघरै खानेपानीको सङ्कट बढ्नेछ ।

पानी जीवनको मुख्य आवश्यकता भएपनि यसको सम्भार र संरक्षणमा बढेको लापर्वाहीले प्राकृतिक असन्तुलन बढ्दै गएर सङ्कट मान्छे आफैंले निम्त्याएको डा. सिंहको रोष छ । “अत्यन्त उर्वर मानिएका मधेशका जग्गा अब पानीबेगर मरुभूमि बन्दैछन् , उर्वर जग्गामा उत्खनन् प्रभावले गेगर्‍यान (ससाना ढुङ्गा मिसिएको बलौटो) थुप्रदैछ” डा. सिंह चिन्ता गर्दै भन्नुहुन्छ, “अब यसलाई संरक्षणतर्फ विचार नगरिने हो भने जीवन सकिन व्याधि आउनु पर्नेछैन ।”

पछिल्ला कालमा सडक, बिजुली र अन्य विकास निर्माणका नाउँमा पनि जथाभावी पाहाड खोस्रने, थुम्का ढाल्ने र कान्ला भत्काउने क्रम बढेको डा. सिंहको कथन छ । यसैगरी विकास निर्माणकै कामका लागि भनिदै नदी, नदीउकास जग्गा र वनक्षेत्रका पर्ती जग्गा उत्खनन् गरेर बालुढुङ्गा निकाल्ने क्रम झभन् बढेको उहाँले बताउनुभयो । प्राकृतिक सम्पदा मानवहितमा तिनको सन्तुलन नबिग्रनेगरी उपयोग गरिएमात्र बढ्दो पानीको सङ्कट कम गर्नसकिने उहाँको भनाइ छ । यो क्षेत्रमा तीनै तहका सरकारको उदासिनता देखिएको डा. सिंहसहितका विज्ञ बताउनुहुन्छ । खासमा यिनको सम्भारमा स्थानीय सरकार (स्थानीयतह) को भूमिका स्पष्ट र दीर्घकालीक सोच बन्नुपर्ने विज्ञहरुको सुझाव छ ।

२०८० मंसिर ४, सोमबार १६:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय