
ममता अर्याल,
बर्दिबास (महोत्तरी), ५ मङ्सिर । बर्दिबास साना सहरी खानेपानी तथा सरसफाई संस्था सम्मानित भएको छ । यसपालि बडादसैं, दीपावली र छठ पर्व गाभेर एक महिनाको खानेपानी महसुल सबै उपभोक्तालाई छुट दिने निणर्य गरेर जनमुखी काम गरेको भन्दै संस्थालाई होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले आज बर्दिबास-३ गौरीडाँडास्थित होटल गुञ्जमा आयोजित एक समारोहबीच सम्मानित गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि बर्दिबास नगरप्रमुख प्रह्लादकुमार क्षत्री, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्ज कार्कीसहितका पदाधिकारीले संस्थाका अध्यक्ष भुलन सेन ठकुरीलाई खादा ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मानित गर्नुभएको हो । संस्थाले यसपालि मुख्य चाडवाड समेटेर गत कात्तिक पाँच गतेदेखि आज मङ्सिर पाँच गतेसम्मको एक महिनाको खानेपानी महसुल सबै उपभोक्तालाई छुट दिने निणर्य यसअघि नै गरेको थियो ।
‘खानेपानी संस्थाले आम उपभोक्तालाई चाडपर्वविशेषमा राहत दिन एक महिनाको महसुल छुट दिएर जनमुखी काम गरेको छ’ सम्मानपत्रमा भनिएको छ, ‘यस कार्यले आम उपभोक्तामा संस्थाप्रति अपनत्व बढेको छ ।’ सम्मानपत्रमा जनताले राहत पाउने कार्यले निरन्तरता पाइरहने अपेक्षा पनि गरिएको छ ।
कार्यक्रममा नगरप्रमुख क्षत्रीले बर्दिबास नगरक्षेत्रको खानेपानी व्यवस्थापन र वितरण कार्यलाई सुव्यवस्थित गर्न योजनाबद्ध काम गरिन पर्ने र त्यसमा आफ्नो साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष सुनिता बरालले संस्थाले यसपालि चाडवाडका बेला आम उपभोक्तालाई केही राहत पुर्याउन गरेको महसुल छुटको निणर्य सराहनीय रहेको उल्लेख गर्नुभयो ।
सम्मान समारोहमा खानेपानी संस्थाका कोषाध्यक्ष भोजप्रसाद फुयाँल (शङ्कर) ले एक महिनाको महसुल छुटको निणर्यले लगभग छ हजार ५०० उपभोक्ताले राहत पाएका र यसवापतको करिब ११ लाख रकम छुट भएको जानकारी दिनुभयो । कोषाध्यक्ष फुयाँलले संस्थाको बक्यौता रकम असुलीमा साथ सहयोग दिन आम उपभोक्ता तथा सबै सामाजिक सङ्घ संस्थाका प्रतिनिधिसँग अपिल पनि गर्नुभयो ।
होेटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका महासचिब नारायण घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा खानेपानी संस्थाका अध्यक्ष ठकुरीले संस्थाले स्वच्छ खानेपानी आपूर्तिको कामलाई उच्च प्राथमिकतामा राखी काम गरीरहेको जानकारी दिनुभयो । सङ्घका जिल्ला सचिब परमेश्वर महतोले स्वागत मन्तब्य दिनुभएको कार्यक्रम अध्यक्ष गुञ्ज कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।