
नेपालवाणी / जनकपुरधाम
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मिडिया कमजोर हुँदा लोकतन्त्र खतरामा परेको बताएका छन् । उनले मिडियाले सधै परिवर्तनको आवाज उठाउने र राज्यका निकाय न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई मोनिटरिङ्ग गरेर थप सुदृढ बनाउने भएकोले लोकतन्त्रक सुदृढ हुने तर मिडिया कमजोर भए लोकतन्त्रमा नै खतरा आउने बताएका हुन् ।
सञ्चार क्षेत्रको सबलीकरणमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख मण्डलले मिडिया कमजोर हुँदा आन्दोलनबाट प्राप्त अधिकार तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान नै खतरामा पार्ने षडयन्त्र र चलखेल हुन थालेको बताए । उनले भने, ‘देशको मिडियाको कहालिलाग्दो अवस्था आउन थाल्यो । कहाँ र कसरी मिडियामाथि प्रहार हुँदैछ, कसरी लोकतन्त्रको जर्गेना गर्ने मिडिया धाराशाही बनाईदेछ, मिडिया मालिकहरु कसरी मोटाउदैछ तर श्रमजीवि र कलमजीविहरुको दैनिकी कसरी कष्टकर हुदैछ भन्नेमा हामी गम्भीर हुनुपर्छ ।’
नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाको अध्यक्षतामा भएको कार्यक्रममा सभामुख मण्डलले पत्रकारिता राज्यको चोथो अंगको रुपमा एउटा सर्वमान्य निकाय भएको र यसले जनजनमा देश र जनताको हितको लागि कार्य गर्नुपर्नेमा त्यसो हुन नसकेको प्रति दुःख व्यक्त गरे । उनले भने, ‘पत्रकारिताको ईमान र विश्वासमा कमी भएको छ । समाजको ऐना पत्रकारिता धुमिल भएकोले स्पष्ट देख्न नसकेकोले प्राप्त उपलब्धि जोगाउन मिडिया विना धै–धौ भैरहेको छ ।’
प्रदेश तथा स्थानीय सरकारले स्थानीयताको प्रतिनिधत्व गराउन नसके लोकतन्त्रको सवलीकरण हुन नसक्ने बताउँदै सभामुख मण्डलले पत्रकारिता मुक्तिको उपासक, दलिदानी र दासत्वबाट मुक्त गराउने अस्त्रशस्त्र भएको बताए । उनले भने, ‘पत्रकारिताको मुल्यमान्यताबाट खस्किए लोकतन्त्र नै खस्किन्छ ।’ मण्डलले सत्ताको विद्रोही पत्रकार भएकोले पत्रकारितामा दृढ संकल्प हुनुपर्ने बताए ।
प्रतिनिधिसभा सदस्य रामकृष्ण यादवले लोकतन्त्र र मिडिया एक अर्काको परिपूरक भएको बताए । पत्रकार भए लोकतन्त्र र लोकतन्त्र भए पत्रकार हुने भएकोले दुवै विषय एकअर्का विना सम्भव नभएको बताए । उनले भने, ‘कानुन निर्माण कम र सत्ता स्वार्थमा राजनीतिक दल डुबेका कारण मिडिया धाराशाही हुन पुगेको छ । जसलाई सरकारले सबलीकरण गरेर लोकतन्त्र र गणतन्त्र बचाउनुपर्ने आवश्यक छ ।’
जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोज कुमार साहले स्थानीय सञ्चार माध्यमको लागि कानून बनाएर एकद्वारा प्रणाली मार्फत विज्ञापन वितरण गर्ने तयारी गरेको बताए । उनले भने, ‘स्थानीय मिडिया सबलीकरणका लागि नगरपालिकाले एउटा सञ्चार संस्था भन्दा पनि जिल्लाकै मिडियाको सबलीकरणमा गम्भीर छु ।’
गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोले सञ्चार माध्यम धनी र पत्रकार कमजोर भए लोकतन्त्रक र गणतन्त्रात्मक राज्य व्यवस्था लागि खतरा भएको बताईन् । उनले भनिन, ‘पत्रकार जिवित भए लोकतन्त्र जिवित हुन्छ । अन्यथा राज्यव्यवस्था र लोकतन्त्र धाराशाही हुन जान्छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष अनिल मिश्रले भुगोल, जनसंख्या, क्षेत्रफलको आधारमा मिडियाको वर्गीकरण आवश्यकता सहितका विषयमा गम्भीर हुनुपर्ने बताए । उनले मिडियामा दिनप्रतिदिन विकृति, विसंगति र असहिष्णुता बढेकोमा चिन्ता व्यक्त गर्दै मिडियाल समाजप्रति उत्तरदायित्व पुरा गर्न नसकेकोमा चिन्ता व्यक्त गरे ।
कान्तिपुर टेलिभिजनका मधेश प्रदेश प्रमुख समेत रहेका मिश्रले मिडिया समाजप्रति उत्तरदायित्व भन्दा विमुख भएर व्यक्तिगत स्वार्थमा डुबेकोले मिडिया प्रतिको विश्वसनीयता कमजोर भएको बताए ।