
बर्दिबास, ५ पुस । सामाजिक सेवा क्षेत्रका संस्थाहरु राजनीतिक खिचातानी र परिचय मुक्त हुनपर्ने महोत्तरी-१ बाट निर्वाचित साँसद (प्रतिनिधिसभा सदस्य) लक्ष्मी महतो कोइरीको भनाइ छ ।
आज बिहीबार नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाको प्रशासनिक भवन निर्माण शुभारम्भ समारोहमा महतोले रेडक्रसको सेवामा कुनै कोणबाट पनि राजनीतिक गन्धले प्रवेश पाउन नहुने बताउनु भएको हो । “अप्ठ्यारामा परेका जोसुकैलाई कुनै ठूलाबडाको भनसुनबिना सेवा दिनोस्” महतोले रेडक्रस उपशाखाका पदाधिकारी तथा सदस्यहरुलाई अपिल गर्दै भन्नुभयो, “तपाईंहरुको सेवाभाव बाँकी सबैका लागि प्रेरणादायी बन्न सकोस् ।” आम रुपमा आपद्विपद् पर्दा पनि सहयोग सद्भावका लागि पैरवी खोज्ने अहिलेको आम बानी बनेको महतोको भनाइ छ ।
मधेशका महोत्तरीसहितका कैयन जिल्लाका बिरामीका लागि रक्त सेवा दिदै आएको रेडक्रस बर्दिबास उपशाखाको प्रशासनिक भवन नेपाल सरकारको मधेश समृद्धि अभियान कार्यक्रमको सहयोगमा आज निर्माण थालिएको हो । यसअघि सञ्चालित रेडक्रस भवनमा रक्तसञ्चार केन्द्र रहने गरी कार्यालय प्रयोजनका अन्य प्रशासनिक कार्यका लागि थप तल्ला भवन निर्माण थालिएको हो । नेपाल सरकारको २५ लाख र स्थानीय रेडक्रसको २० लाख गरी करिब ४५ लाखको लागतमा निर्माण थालिएको भवनका लागि आवश्यक इँटा साँसद महतोले व्यक्तिगत रुपमा आज नै हस्तान्तरण गर्नुभएको छ । दोस्रो तला निर्माणमा १८ हजार इँटा लाग्ने प्राविधिक इष्टिमेट छ । दोस्रो तलामा निर्माण हुने अतिथिकक्षसहितको भवनमा चार कोठा रहने रेडक्रस बर्दिबास शाखाका सभापति रेवन्त कार्की ‘सुदीप’ ले जानकारी दिनुभयो ।
रेडक्रस बर्दिबास उपशाखाले विक्रम सम्वत् २०७७ देखि नै रक्तसञ्चार सेवा प्रदान गर्दै आएको छ । निकट भविष्यमै श्वेत (सेतो) रक्त बैङ्क पनि सञ्चालनको तयारी थालिएको उपशाखाका निवर्तमान सभापति तथा रेडक्रस महोत्तरी जिल्ला कार्यसमितिका सदस्य मुकुन्द पौडेलले जानकारी दिनुभयो । “हामी यसै भवनबाट श्वेत रक्त बैङ्क सञ्चालनको तयारीमा जुटेका छौं, यसका लागि तीनै तहका सरकारदेखि मनकारी सहयोगी हातको खोजी गरीरहेका छौं” पौडेलले भन्नुभयो ।
समारोहमा मधेश प्रदेशसभा सदस्य शारदा थापा र बर्दिबास नगरप्रमुख प्रह्लाद क्षेत्रीले सामाजिक सेवाका क्षेत्र र विकास निर्माणमा कुनै राजनीतिक आग्रह नराखी फरकफरक दलका भएपनि यहाँका प्रतिनिधि एक मन र वचनले लागीरहेका बताउनुभयो । रेडक्रस बर्दिबास शाखाको सेवालाई अझ प्रभावकारी रुपमा विकास गर्न दुबैले प्रतिबद्धता जनाउनुभयो ।
नयाँ भवन चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसक्ने बर्दिबास उपशाखाले जनाएको छ ।