बर्दिबास । जाडो झनझन बढ्दै गएपनि आङ् ढाक्न नपाएका गरिब तथा असहायसम्म न्यानो पुर्‍याउने अभियानमा महोत्तरीका केही संस्थाले तदारुखता देखाएका छन् । महोत्तरीको कणर्ाली भनिने बर्दिबास-१० को चुरे काछको बस्ती झ्याउरे भाङ्रेस्थित लक्ष्मीबास माध्यमिक विद्यालयका विपन्न परिवारका छात्रछात्राबाट ‘सबैका लागि हामी संस्था’ ले बिहीबार न्यानो बाँड्ने अभियान थालेको हो । अभियानको क्रममा सो विद्यालयमा अध्ययनरत बर्दिबास-१०, ११ का ५९ जना छात्रछात्रालाई डाउन ज्याकेट, ट्राउजर र कानेटोपी दिइएको छ ।

चुरे काछको भित्रीखोलाका पाखे बस्तीका बालबालिकाबाट अभियान थालिएको संस्थाका अध्यक्ष रवि निरौलाको भनाइ छ । संस्थाले बर्दिबास नगरपालिकाका ५२ सामुदायिक विद्यालयमध्ये विकटक्षेत्रका २२ विद्यालयका विपन्न परिवारका छात्रछात्रालाई न्यानो बाँड्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

शिक्षा र अन्य अवसरले पछि परेपनि कृषि तथा पशुपालनको प्रचुर सम्भावना रहेका चुरे काछका बस्तीमा तीनै तहका सरकारको ध्यानाकर्षण गराउन अभियान यी बस्तीबाट थालिएको संस्थाले जनाएको छ । अभियानको थालनी गर्दै बर्दिबास नगर प्रमुख प्रह्लादकुमार क्षत्रीले विकट बस्तीका विद्यालयको शैक्षिक तथा भौतिक विकास प्राथमिकतामा रहेका बताउनुभयो । बर्दिबास-१०, ११ का चुरेकाछका विकट बस्तीमा सडक यातायातको पहुँच र कृषि तथा पशुपालन कार्यक्रमको प्रबद्र्धनका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्दै काम थालिएको जानकारी दिनुभयो ।

अभियान थालेको संस्थाले स्थानीय सरकारको सहयोग रहे २२ बाहेकका विद्यालयमा पनि अभियान लगिने संयोजक सञ्जित लामाको भनाइ छ । जाडोको कहर बढ्नअघि नै विपन्न बस्तीका नानीहरुमा न्यानो बाँड्न सके चिसोले स्वास्थ्यमा पुर्‍याउनसक्ने असर समयमै रोकथाम हुने अभिप्रायले पुस मध्य पहिले नै अभियान थालिएको संस्थाले जनाएको छ ।

यसैबीच नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाले विपन्न बस्ती र परिवारको पहिचान गरी लगत्तै न्यानो बाँड्ने तयारी गरिएको जनाएको छ । चिसो छिप्पिदै जाँदा जिल्लाका अन्य सङ्घ संस्थाले पनि न्यानो अभियानबारे चासो बढाएका छन् ।

२०८० पुष १३, शुक्रबार १२:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय