
बर्दिबास (महोत्तरी) , २१ पुस । हृदयसम्बन्धी समस्या पहिचान र निदानमा स्वयंसेवी योगदान दिदै आएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान (Nepal Heart Faundetion) महोत्तरी शाखामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
प्रतिष्ठान जिल्ला शाखाको आज शनिबार सम्पन्न दोस्रो अधिवेशनले दिपकबहादुर कार्कीको सभापतित्वको सर्वसम्मत १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । कार्की अहिले दोस्रो कार्यकालका लागि फेरि सभापति छानिनु भएको हो ।
अधिवेशनले दुई उपसभापतिमा क्रमशः भोजप्रसाद फुँयाल र रामबाबु यादवलाई छानेको छ । यसैगरी भवनाथ खतिवडा, डोरमणि ढकाल र पूजा हमाललाई क्रमशः सचिब, सहसचिब र कोषाध्यक्षको जिम्मेवारी दिइएको अधिवेशन अध्यक्षमण्डलका अध्यक्ष तथा प्रतिष्ठानका केन्द्रीय सदस्य माथुरप्रसाद यादवले जानकारी दिनुभयो ।
समितिमा कोशिका हमाल, इन्द्रनारायण सिलवाल, विशाल बस्नेत, सजिना कार्की, डा. चन्द्रमणि क्षत्री, इन्द्रदेव यादव र सूर्यनारायण यादवसहित सदस्य छानिनु भएको अधिवेशन अध्यक्ष मण्डलले घोषणा गरेको हो ।
प्रतिष्ठानको नयाँ नेतृत्वलाई महोत्तरी-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी, मधेश प्रदेशसभा सदस्य शारदादेवी थापा र प्रतिष्ठानका केन्द्रीय सदस्य माथुरप्रसाद यादवले बधाई ज्ञापन गर्दै अत्यन्त विपन्न र स्वास्थ्य सेवाको सहज पहुँचमा पुग्न नसकेका नागरिकको स्वास्थ्य जाँच र उपचार कार्यमा नयाँ नेतृत्वले योजनाबद्ध काम गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।
प्रतिष्ठानको महोत्तरी शाखामा १७६ जना आजिवन सदस्य छन् । पछिल्लो दुई अधिवेशनबीचको अवधिमा प्रतिष्ठान जिल्ला शाखाले पाँच पटक स्वास्थ्य शिबिर सञ्चालन गरी पहिचान गरिएका हृदय (मुटु) रोगीहरुलाई उपचार कार्यमा सहयोग पुर्याएको अधिवेशन सत्रमा जानकारी दिइएको थियो । प्रतिष्ठान जिल्ला शाखाले स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि विज्ञहरुबाट तालिम सञ्चालन गर्दै आइएको जनाएको छ ।