
बर्दिबास : तराईमा वामप्रजातान्त्रिक आन्दोलनसँग जोडेर किसान आन्दोलनको अगुवाइ गर्ने स्व. जयगोविन्द साहको सम्झना गरिएको छ । जयगोविन्द साह अध्ययन केन्द्र इन्स्टिच्युट अफ टेक्टिनल एजुकेसन बर्दिबास महोत्तरीले स्व. साहको ३४ औं स्मृति दिवसका अवसरमा आज बुधबार आयोजना गरेको कार्यक्रममा नेपालको वामप्रजातान्त्रिक र किसान आन्दोलनमा उहाँको योगदानको स्मरण गरिएको हो ।
कार्यक्रममा नेकपा माओवादीकेन्द्रका उपमहासचिब गिरिराजमणि पोखरेलले जीवनपर्यन्त गरीखाने वर्गको उत्थानका लागि सङ्घर्ष गर्नु भएका साह अहिलेको मधेशमा त्यतिखेर पञ्चायतविरुद्धको किसान आन्दोलनका मुख्य अगुवा रहेका बताउनुभयो । “उहाँ पश्चिम पर्सादेखि पूर्व सप्तरीसम्मका प्रमुख सङ्गठक हुनुहुन्थ्यो, यहाँ किसान आन्दोलनको माध्यमले कम्युनिष्ट पार्टी निर्माण र पञ्चायतविरुद्ध जनमत बनाउन उहाँको योगदान रह्यो” पोखरेलले भन्नुभयो ।
राणाशाहीविरुद्धको आन्दोलनबाट राजनीतिमा होमिनु भएका स्व. साह २०११ सालदेखि कम्युनिष्ट पार्टीको पूणर्कालीन कार्यकर्ता बन्नुभएको कार्यक्रममा डा. महेश मास्केले उल्लेख गर्नुभयो । आपूm दरभङ्गा मेडिकल कलेजमा अध्ययन गरीरहेका बेला २०४० अघि उहाँको सम्पर्कले वामआन्दोलनसँग नजिकिएको डा. मास्केले बताउनुभयो । “कलेज विदाहुँदा उहाँसँग सिरहाका बस्तीबस्ती घुमेको मलाई सम्झना छ” डा. मास्केले भन्नुभयो, “पञ्चायतविरुद्ध जनतालाई सङ्गठित गर्दा स्व. साह साहस, इमान, निरन्तरता र धैर्यतामा जोड दिनुहुन्थ्यो ।” विक्रम सम्वत् १९७६ मा कारागारमा जन्मनु भएका साहको पैत्रिक थलो सिरहाको कर्जन्हा हो ।
त्यतिखेर अन्तरजातीय विवाह गर्नुभएका उहाँका पितामाता त्यसै अपराधमा जेल पर्दा उहाँको जन्म भएको थियो । पञ्चायतविरुद्धको आन्दोलनका क्रममा निर्वासनमा रहँदा भारतको जयनगरमा २०४६ साल पुस २५ गते उहाँको निधन भएको हो । निधनपश्चात तत्कालीन पञ्चायत सरकारले शव नेपाल ल्याउन नदिएपछि भारतमै उहाँको अन्तिम संस्कार गरिएको थियो ।
कार्यक्रममा गौशाला इञ्जिनियरिङ्ग कलेज गौशाला महोत्तरीका प्रमुख डा. आर.डी. यादवले स्व. साहको स्मृतिमा स्थापित प्राविधिकतर्फको फार्मेसी अध्ययन र अभ्यासमा आधारभूततहका जनताका छोराछोरीले अवसर पाउनु पर्ने उल्लेख गर्नुभयो । त्यसैगरी नेपाल फार्मेसी परिषदका रजिष्टार सञ्जिव पाण्डेले फार्मेसी अध्ययन र अभ्यासले स्वरोजगार बनाउन सहयोग गर्ने उल्लेख गर्नुभयो । कार्यक्रम आयोजक संस्थाका अध्यध्य हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।