
गौशाला (महोत्तरी) : गौशालाको मरहा नदी अवैद्य उत्खनन् गरिरहेको बेलामा बिना नम्बर प्लेटको स्काईभेटर पक्राउ गरिएको छ । गौशाला नगरपालिकाका उप-प्रमुख रेणु कुमारी महतोको नेतृत्वमा गएको टोलीले बिना नम्बर भएको स्काईभेटरले मरहा नदीमा अवैद्य उत्खनन भईरहेको पाएपछि पक्राउ गरी प्रहरीको जिम्मा लगाईएको हो ।
महोत्तरीको गौशाला नगरपालिका वडा नं. १० स्थित मरहा खोलाको बाँध नजिक्कै करिब १० फिट गहिरो खनिसकेको अवस्थामा पक्राउ गरिएको उप-प्रमुख रेणु कुमारी महतोले जानकारी दिए । उनले भनिन, ‘स्काईभेटरले नीजि जग्गामा खनेको भनेर मरहा खोलाको अवैद्य रुपमा उत्खनन् गरिरहेको थियो । हामीलाई गोप्य सूचना प्राप्त भयो । सूचना प्राप्त हुनसाथ हामीले सशस्त्र प्रहरी बल बेश क्याम्प रामनगर र ईलाका प्रहरी कार्यालयको सहयोगमा स्काईभेटर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पठाएका छौं ।’
सूचनाको आधारमा पक्राउ गर्न गएको बेलामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोधजोज गर्दा हनुमान क्रसर उद्योगमा लागि स्टोकको लागि खनिज पदार्थ बालुवा तथा गिटी उठाईरहेको भेटिएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । श्रोतका अनुसार हनुमान क्रसर उद्योगलाई गौशाला नगरपालिकाले मापदण्ड विपरित चलाएको तथा नियम अटेर गरेको आधारमा कालोसूचीमा राखेको जनाईएको छ ।
नदी नियन्त्रण तथा अनुगमनको क्रममा अवैद्य उत्खनन भएको जानकारीका साथ गएको उप-प्रमुख महतोकोले टोलीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहयोग गरेपनि नगरको नगर प्रहरीले नदी नियन्त्रणमा सहयोग गरेको थिएन ।