महोत्तरी : चुरे पर्वत श्रेणिका शृङ्खला ओरपर पर्यटकीय गन्तव्य पहिल्याउन महोत्तरीमा पदयात्रा थालिएको छ । जिल्लाभित्र बर्दिबास नगरपालिका क्षेत्रमा मात्र पर्ने चुरे पर्वत श्रेणिमा पर्यटकीय गन्तव्य पहिल्याउन बर्दिबास उद्योग वाणिज्य सङ्घले पदयात्रा थालेको हो ।

“स्थानीय समृद्धिको आधार पहिल्याउन पर्यटन मुख्य आधार हुनसक्ने हुँदा त्यस्ता ठाउँ पहिल्याउन पदयात्रा थालेका छौं” बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्का भन्नुहुन्छ, “पहिलो दिनको पदयात्रामै गिद्धबास, सिद्धगुफा र पाषाणकालीन हतियार कारखाना क्षेत्र पुगेपछि उत्साह बढेको छ ।”

पदयात्राको पहिलो दिन शनिबार चुरे पर्वत श्रेणिमा लोपोन्मुख पंक्षी गिद्धको बासस्थान, तपस्यारत लामाको गुफा ,परेवापाखा र धार्मिकक्षेत्र राइमण्डलको अवलोकन गरिएको पदयात्रीले बताएका छन् । बर्दिबासमा पर्यटकको बसाइ लम्ब्याउन र पाहुनालाई नयाँ ठाउँको अवलोकन गराउन यी ठाउँ निकै महत्वपूणर् हुने पदयात्रीको भनाइ छ । पदयात्रामा उद्यमी, ब्यापारी, होटल तथा पर्यटन व्यवसायी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मी सहभागी छन् ।

बर्दिबासचोकबाट १५ किलोमीटरभित्र लोपोन्मुख पक्षी गिद्धको बासस्थान भेटिएको छ । पाहाडी कन्दरामा बस्ने सयौंको सङ्ख्यामा गिद्ध भेटिन्छन् । यो ठाउँ पक्षीबारे अध्ययन गर्ने र घुमफिरमा आउने पर्यटकका लागि अवलोकनको राम्रो गन्तव्य हुनसक्ने यात्रामा सहभागी नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष सुनिता बरालको भनाइ छ ।

बर्दिबास-३ को राइमण्डल शिरमा घना जङ्गलबीच लामाहरुले सिद्धि प्राप्त गर्न तपस्या गर्ने गुफा फेला परेका छन् । त्यसैगरी वनक्षेत्रको पाहाडी पाखाका खोपमा परेवा बसीरहेका छन् । राइमण्डल फाँटमा अघि सत्य युगमा स्वर्गका राजा इन्द्रले श्री महादेवको तपस्या गरेर प्रशन्न गराएका जनश्रुति छ । त्यतिखेर इन्द्रले स्थापना गरेका शिवलिङ्ग इन्द्रेश्वर महादेवका नाउँले प्रसिद्ध रहेका छन् । पाटुमा पाषणकालीन हतियार कारखानाका अवशेष भेटिएका छन् । यी ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बर्दिबास-३ का वडाअध्यक्ष विराट बिष्ट बताउनुहुन्छ ।

“सम्भावना त हाम्राबीच नै रहेछन्, यिनको पहिचान र व्यवस्थापन गर्नसके बर्दिबास पर्यटकीय नगरी बन्नसक्ने देखिन्छ” पहिलो दिनको पदयात्रामा सहभागी पूर्वमन्त्री गिरिराजमणि पोखरेल भन्नुहुन्छ, “यस दिशामा स्थानीयतहले पहिलो पहलकदमी बढाउन पर्छ, सहयोग थपिन वा बढ्न स्थानीयतहको भूमिका मुख्यपक्ष बन्छ ।”

यो पटकको पदयात्रामा जिल्लामा पर्ने चुरे पर्वत श्रेणिका पर्यटनका लागि सम्भावित बढीभन्दा बढी ठाउँको अवलोकन गर्नेगरी तालिका बनेको आयोजक संस्था बर्दिबास उद्योग वाणिज्य सङ्घले जनाएको छ । “यस क्रममा प्रसिद्ध धार्मिकस्थल पञ्चधुरा माईस्थान, टुटेश्वरनाथ महादेव मन्दिर, चुरे पर्वत श्रेणिकै सबभन्दा अग्लो मानिएको चनौटेडाँडा, चुरेकाछका बस्तीहरु , यहाँका नदीनाला र जलाधारक्षेत्रसहितका रमणीयस्थल पनि हामी पुग्छौं” सङ्घका अध्यक्ष खड्का भन्नुहुन्छ, “यो पदयात्राले ठम्याएका सम्भावित पर्यटकीय गन्तव्यबारे आवश्यक अध्ययन र काम बढाउन तीनै तहका सरकारको ध्यानाकर्षण हुने विश्वास छ ।” पदयात्राले यहाँका पर्यटकीय गन्तव्यको पहिचान र व्यवस्थापनबारे सार्वजनिक चासो बढाउनु आपूmहरुको अहिलेको मुख्य ध्येय रहेको पदयात्रीले स्पष्ट पारेका छन् ।

पदयात्राका क्रममा चुरे काछका बस्तीको रहनसहन , व्यवसाय र साँस्कृतिक परम्परा, भेषभुषा र अन्यपक्षबारे पनि अवलोकनको अवसर पाइएको पदयात्रीको भनाइ छ । यात्राको अन्तिम प्रतिवेदन तीनै तहका सरकारलाई ध्यानाकर्षणका लागि बुझाइने जनाइएको छ । महोत्तरीमा चुरे पाहाडीक्षेत्र को खोच करिब ३० किलोमीटर रहेको छ ।

२०८० माघ ७, आईतवार २०:०२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय