
नेपालावाणी डटकम
जनकपुरधाम, माघ ।
प्रथम सभामुख क्रिकेट कपमा धनुषा विजयी भएको छ । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप २०८० मा सप्तरीलाई ३३ रनले पराजित गर्दै धनुषा विजयी भएको हो । मंगलबार रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशाला मैदानमा भएको खेलमा धनुषाले फराकिलो रनले विजयी भएको हो ।
टस जितेर धनुषा टिमले गरेको पहिला बलेबाजीमा निर्धारित ४० ओभरमा सबै विकेट गुमाएर १ सय ८३ रनको लक्ष्य सप्तरी समक्ष प्रस्तुत गरेका थिए । धनुषाका लागि सार्वधिक अलि असगरले ४४ बलमा ३४, साइमोन रोयले १९ बलमा ३३ र पशुराम यादवले ५७ बलमा २७ रनको योगदान दिएका थिए ।
८ नम्बरमा ब्याटिङ गर्न आएका साइमोनले आक्रमक ब्याटिङ गर्दै टिमको स्कोर उच्च बनाएका थिए । उनले १९ बलको समाना गर्दा पाँच चौका र एक छक्का प्रहार गरे । ओपनर म्यान यादव टिमको २५ रन स्कोर हुँदा नै आउट भएका थिए । त्यसपछि ब्याटिङमा आएका पशुराम यादव र हिमांशु दत्तले संघर्ष गरेका थिए । यद्यपी उनीहरु टिमको स्कोर उच्च बनाउन नपाउँदै पबेलियन फर्केका थिए । दत्तले ५० बलमा १६ र पशुरामले ५७ बलमा मात्र २७ रन बनाउन सके ।
सप्तरीका लागि बलिङ गरेका रोहन विक र नितेश यादवले तीन तीन विकेट लिए । यस्तै, अनिल यादवले दुई र अभिषेक कार्कीले एक विकेट लिए । विशाल लक्ष्य पाएका सप्तरी टिम जवाफी ब्याटिङ गर्दा ३९ ओभर दुई बलमा सबै विकेट गुमाएर मात्र १ सय ४९ रन बनाउन सके ।
सप्तरीका लागि राहुल मण्डलले सार्वधिक ४२ बलमा ४० रन, अमित कुमार यादव ३९ बलमा २६ रन र अभिषेक कार्कीले ४३ बलमा १८ रन बनाए । यस टिमका अन्य ब्याट्स म्यानले सम्मानजनक रन बनाउन सकेनन् ।
धनुषाका लागि बलिङ गरेका अखिलेश ठाकुरले आठ ओभरमा ३४ रन खर्चेर तीन विकेट लिए । यस्तै, रुपेश यादव, अभिजित मण्डल र विक्रान्त यादवले समान दुई दुई विकेट लिए । यस खेलको म्यान अफ दी म्याच धनुषाका अखिलेश ठाकुर घोषित भएका थिए । म्यान आँफ दी म्याचलाई जनमत पार्टीका सांसद सतिष कुमार सिंहले नगद तीन हजार र शिल्ड प्रदान गरेका थिए ।